विश्वयुद्धका १०१ वर्षे योद्धा भन्छन्- ती दिन सम्झँदा रुन मन लाग्छ

0 8

२ बैशाख, पोखरा । मुहारमा पातला सेता दाह्री। आँखामा पावरवाला चस्मा। शिरमा सधैं ढाका टोपी। हृष्टपुष्ट ज्यान देख्दा र फूर्तिलो आवाज सुन्दा पोखरा १२ माटेपानीका लालबहादुर गुरुङले एक सय एक वसन्त पार गरिसके भनेर पत्याउन मुस्किल हुन्छ।

नातिनातिना खेलाएर बस्नुपर्ने उमेरका यी वृद्धलाई बुढ्यौलीले अझै पछार्न सकेको छैन। उमेर ढल्कँदै गए पनि बेलायती गोर्खा सैनिकका अवकाश प्राप्त यी लाहुरेको जोस विश्वयुद्ध लड्दाजस्तै रहेको अन्नपूर्ण पोस्टमा खबर छ।

गाउँमा कोही बिरामी परे, सामाजिक काम आइपरे उनी लौरो टेकेरै पुगिहाल्छन्। जहिले जहाँ पुगे पनि उनी सबैलाई आफूले भोगेका अनुभव सुनाउँछन्। ‘सत्य कहिल्यै डग्दैन, झूटो कहिल्यै टिक्दैन, राम्रो काम गर्नेहरू कहिल्यै कसैसँग डराउनु पर्दैन’, उनले भने, ‘नबिराउनु नडराउनु, तर बेइमान कहिल्यै कसैसँग नगर्नु।’

तन्नेरीमा कास्कीको स्याङ्जाकोटबाट भागेर भारतको देहरादुन पुगी बेलायती सेनामा भर्ती भएको उनी सम्झन्छन्। पाँच महिना तालिम लिएपछि बेलायती सेनाको सिपाही भएर उनी संसारका कुनाकुना पुगे।

ज्यान हत्केलामा राखेर गोली, बम, बारुदको गोला र धुवाँसँग दिनरात भिड्दै भारत, इरान, साइप्रस, ट्युनिसिया, क्युबा, इटालीलगायतका देशसम्म पुगे। समुद्र, जंगल, मरुभूमि सबै ठाउँमा वीरतापूर्वक लडे।

युद्धमैदानमा उभिएपछि बाँच्न भए पनि अरूलाई मार्नुपर्दाको पीडाले अझै पोलिरहेको उनी बताउँछन्। ‘आफ्नो ज्यानको माया सबैलाई लाग्दो रैछ।

अर्कोलाई नमारे आफूलाई मार्ने भएकाले बाँच्नकै लागि मैले धेरैलाई मारें’, लड्दाका बाध्यता उनले सुनाए, ‘सँगसँगै हिँडेका साथीहरू आफ्नै सामुन्ने गोली लागेर ठहरै भएको देख्दा धेरैपटक धुरु धुरु रोएँ।’

युद्धका क्रममा साइप्रसमा खाना खान बसेको बेला ठूलो बमबारी भएको घटना सम्झँदा उनी अझै मर्माहत बन्छन्।

‘दिनभर लडेर थाकेकाले पलेँटी मारेर गोलाकार बसेर खाना खान लागेका थियौं, अचानक भररर गोली बर्सियो, उठेर भाग्न नपाउँदै ढ्वाङ गर्दै ठूलो धुवाँको मुस्लोसँगै साथीहरूको ज्यान पनि आकाशमा उड्यो’, त्रासदीपूर्ण घटना सुनाउँदै उनले भने, ‘म अलिपर डाँडामा बसेकाले बाँचे, तर १८ जना नेपाली एकै चिहान बने।

सँगै हिँडेका नेपाली दाजुभाइको टाउको एकातिर ज्यान अर्कोतिर उछुट्टिएर चोक्टा चोक्टा भयो। त्यो सम्झँदा अहिले पनि रुन मन लाग्छ।’