आईपीएलमा दैनिक करोडको बाजी

0 5

२ बैशाख, वीरगन्ज । भारतमा इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सुरु भएपछि सीमावर्ती सहर वीरगन्जमा पनि लाखौं रुपैयाँ बाजी थाप्ने होडबाजी सुरु भएको छ। आईपीएलको यस्तो अवैध बाजीमा वीरगन्जमा मात्र दैनिक एक करोड रुपैयाँसम्मको हारजित हुने अनुमान छ।

गत बुधबार उद्घाटन खेलमै कोलकत्ता नाइट राइडर्सका पक्षमा दुई लाख रुपैयाँ बाजी थापेका आदर्शनगरका अमित अग्रवाल (नाम परिवर्तन) ले तीन लाख ६० हजार रुपैयाँ जिते। उक्त खेलमा कोलकत्ताले मुम्बई इन्डियन्सलाई हराएपछि अग्रवालले बाजी जितेको अन्नपूर्ण पोस्टमा खबर छ।

यस्तो अवैध कारोबारका लागि वीरगन्जमा तीनजना दलाल सक्रिय रहेको स्रोतले बतायो। तीनजना दलालले जुवाकै लागि माईस्थान, लोहारपट्टी र आदर्शनगरमा गोप्य कार्यालय सञ्चालन गरेका छन्।

बाजी थाप्ने जुवाडेबीच मध्यस्थकर्ता गर्ने स्थानीय दलाललाई ‘बुकी’ भनिन्छ। वीरगन्जका दलाल बुकीमात्रै हुन्। सट्टेबाजीमा संलग्न आदर्शनगरका एक व्यापारीका अनुसार सट्टेबाजका मुख्य गिरोह भने भारतको जयपुरमा छन्। जयपुरका सट्टेबाजले वीरगन्जमा तीनजनालाई दलालीको जिम्मा दिएको ती व्यापारीले बताए।

‘बाजी लगाएको रकमको २० प्रतिशत कमिसन बुकीले लिन्छन्’, एक बुकीले भने, ‘प्रत्येक खेलमा वीरगन्जका एकजना बुकीलाई थोरैमा पनि आठ लाख रुपैयाँ आम्दानी हुन्छ।’

बुकीले जयपुरमा रहेका मुख्य गिरोहलाई न्यूनतम आठदेखि २५ लाख भारतीय रुपैयाँ धरौटी जम्मा गरेपछि मात्र सट्टेबाजीको धन्दा चलाउने अनुमति पाउँछ।

वीरगन्जमा एक खेलमा एक बुकीमार्फत ५० लाख रुपैयाँसम्मको सट्टाबाजी हुन्छ। सट्टेबाजी प्रत्येक खेलको हारजित, ओभरमा बन्ने रन, खेलाडीले बनाउने व्याक्तिगत रन र विकेटका लागि गरिन्छ।

बाजी लगाउने जुवाडेले बुकीको कार्यालयमा न्यूनतम १० हजार रुपैयाँ धरौटी राखेर आफ्नो मोबाइल नम्बर टिपाउनुपर्छ। त्यसपछि बुकीले आफ्नो गोप्य मोबाइल नम्बर सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउँछ।

आईपीएलमा सट्टेबाजी लगाउँदै आएका रानीघाटका एक युवकले उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्सका पक्षमा पाँच हजार रुपैयाँ बाजी लगाएर आठ हजार रुपैयाँ जितेको बताए। खेलको अन्तिम नतिजा आएको दुई घन्टामै बुकीले रकम भुक्तानी गरेको उनले बताए।

सट्टेबाजी लगाउनेमा राजनीतिक दलका नाम चलेका नेता पनि रहेको बुझिएको छ। सट्टेबाजीमा दैनिक एक करोड रुपैयाँसम्मको हारजित हुने गरे पनि प्रहरी भने यस विषयमा बेखबर छ।

पर्साका प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले आईपीएलमा सट्टेबाजी चलेको खबर पाए पनि धन्दा चलाउनेको पहिचान गर्न नसकिएको बताए। सट्टेबाजीका कारोबारी पत्ता लगाउन अपराध अनुसन्धानको विशेष टोली परिचालन गरिएको जानकारी उनले दिए।