गुणस्तरहीन सामान बेच्न नपाएको बिरोधमा बजार बन्द

0 11

१ बैशाख, सोलुखुम्बु । गुणस्तरहीन सामान बेच्न नपाएको बिरोधमा सदरमुकाम सल्लेरीका व्यवसायीले अनिश्चितकालीन बजार बन्द गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य वस्तु बरामद गरेपछि त्यसको बिरोधमा व्यवसायीले बजार बन्द गरेका हुन् । अनुगमनका क्रममा प्रशासनले गत चैत २७ गते करिब पाँच लाख रूपैयाँ बराबरका म्याद गुज्रिएका सामान तथा चेतावनीमूलक चित्र नभएका सुर्तीजन्य वस्तु बरामद गरेको थियो ।

सामग्री जफत गरी नष्ट गरेपछि व्यवसायीहरुले ति वस्तु कम्पनीमा फिर्ता गर्न लगाउनुपर्नेमा नष्ट गरेको भन्दै बजार बन्द गरेका हुन् । उद्योग वाणिज्य संघका सचिव तार्देन शेर्पाले अनुगमनका नाममा पसल रित्तो हुने गरी सामान नष्ट गरिएको आरोप लगाए ।

क्षतिपूर्ति नपाउँदासम्म बजार बन्द गर्ने शेर्पाले चेतावनी दिएका छन् ।

यहाँका व्यवसायीहरुले सोमबार राती प्रशासन कार्यालयमा धर्ना दिएका थिए । कुरा नमिलेपछि उनिहरुले आज बिहानैदेखि बजार बन्द गरेका हुन् । अहिले सदरमुकाममा होटल, पसल, यातायात सेवा बन्द छ । सदरमुकामबाट राजधानी तथा अन्यत्र जाने यात्रु मर्कामा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले गुणस्तरहीन सामान बेच्न पाउनुपर्ने व्यवसायीको माग पूरा नहुने बताए ।

‘व्यवसायीलाई गुणस्तरहीन सामान बिक्री गर्न छुट छैन’ प्रजिअ ढकालले भने- ‘गुणस्तरहीन सामान बेचेको पाइएमा कानुनअनुसार कारबाही हुन्छ ।

– See more at: http://www.onlinekhabar.com/2015/04/265787/#sthash.LqhqRoim.dpuf