पोखरामा सेती नदी बचाउ अभियान शुरु

0 9

१ वैशाख, कास्की । पोखराको सेती नदीलाई स्वच्छ, सफा र पवित्र बनाउने उद्देश्यले मंगलबारदेखि ‘सेती नदी बचाउ’ अभियान शुरु भएको छ । पोखराको महेन्द्रपुलस्थित नदी किनारमा फालिएका फोहोर सफा गरेर अभियानको शुभारम्भ गरिएको हो ।

Seti-Nadi-Safai-pokhara

सफाई अभियानमा स्थानीय क्लब, आमा समूह, पोखरा उद्योग वाणिज्य संघ र टोल विकास संस्थाको सहभागिता थियो । आगामी दिनमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई पनि सहभागि गराईने बताईएको छ ।

काठमाडौंमा वामगती नदी सफाइ अभियानले पाएको सफलताबाट प्रभावित भएर वागमतीलाई जस्तै सेती नदीलाई पनि स्वच्छ, सफा र पवित्र बनाउने उद्देश्य अनुरुप अभियान थालिएको अभियन्ता तथा पोखरा उपमहानगरपालिका ९ का सचिव लोकदर्शन कोइरालाले बताए ।

उनले भने, ‘पोखरा महेन्द्रपुलस्थित साँघुको मुख क्षेत्रको नदी किनारमा फालिएको फोहोर सफा गरेर नयाँ बर्षको पहिलो दिनबाटै अभियानको शुरुवात भएको छ, यो निरन्तर चल्छ, हाल फोहोरले भरीएका क्षेत्रमा हामीले सबैको सहयोगमा सफाइ पछि पार्क निमार्ण गर्ने छौं ।’

सरसफाई अभियानमा सेती किनारका घरधनीलाई अनिवार्य सहभागी गराइने उनले बताए । अभियानमा सहभागिता जनाइ सहयोग गरिदिन पोखराबासीलाई उनले अपिल पनि गरेका छन् ।

२ हजार ५ सय रुपैयाँसम्म जरिवाना

सेती बचाउ अभियान अन्तर्गत सेती नदीमा जहाँ जहाँ पुल छन् ती पुलमुनी फोहोरको डंगुर छन् । पहिलो चरणमा पुल मुनि र त्यस वरपरको क्षेत्र सफा गर्ने र पछि पार्क निर्माण गर्ने लक्ष्य राखिएको कोइरालाले बताए ।

सफाइ पछि ती क्षेत्रमा वातावरण मैत्री विकास समिति गठन गरिनेछ । जस अन्तर्गत पहिलो चरणमा ‘साँघुको मुख वातावरणमैत्री विकास समिति’ गठन भइसकेको उनले जानकारी दिए । समितिले सो क्षेत्र सफाई गर्नुका साथै सम्पदा संरक्षणमा पनि भूमिका खेल्ने उनको भनाई छ ।

सरसफाई पश्चात पनि फोहोर फालेको भेटिए २ हजार ५ सय रुपैयाँसम्म जरिवाना गरिने सचिव कोइरालाले बताए ।

सेती नदी पोखराको गहना

सेती नदी सफाइ अभियान शुभारम्भ गर्दै क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले सेती नदी पोखराको गहना भएको भन्दै यसलाई बचाइ राख्न सम्पूर्ण पोखरेली लाग्नुपर्ने बताए ।

पवित्र स्थल सेती नदी पछिल्ला दिनमा दुर्गन्धित र फोहोर फाल्ने डम्पिङ साईटको रुपमा प्रयोग भएकोप्रति दुःख व्यक्त गर्दै उनले अभियानले सेतीलाई धार्मिक पवित्रस्थलको रुपमा बिकास गर्ने विश्वास व्यक्त गरे । क्षेत्रीय प्रशासक थपलियाले सेती नदीमा अब ढल निकास गर्न नदिने बताउँदै गरिएकाहरु पनि हटाइने बताए ।

सरसफाई अभियानको उदघाटन कार्यक्रम साँघुको मुख वातावरणमैत्री उपभोक्ता समितिका अध्यक्ष इन्द्रकमल मानन्धरको अध्यक्षतामा भएको थियो ।

-Source: Onlinekhabar