आजदेखि प्लास्टिकका झोला निषेध, बोक्नेलाई कारबाही

0 5

१ वैशाख, काठमाडौं । सरकारले मंगलबारदेखि उपत्यकामा प्लास्टिक झोला बिक्री वितरण र प्रयोग निषेध गरेको छ । सरकारले प्लास्टिक झोका बोक्ने र बिक्री वितरण गर्नेलाई वातावरण संरक्षण ऐनअनुसार कारबाही गर्ने भएको छ ।

व्यवस्थापिका संसदको वातावरण संरक्षण समितिको ९ भदौ २०७१ मा बसेको बैठकले प्लास्टिक झोलामुक्त उपत्यका बनाउन सरकारलाई निर्देशन दिएको थियो । समितिको निर्देशनअनुसार सरकारले उपत्यकाभित्र प्लास्टिक झोला प्रतिबन्ध लगाउन घोषणा गरेको राजधानीलगायतका दैनिक पत्रिकामा खबर छ ।

समितिले उपत्यकाबाहिरका लागि प्लास्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिँदै ३० माइक्रोनभन्दा पातलो प्लास्टिक झोला उत्पादन, आयात/निर्यात, बिक्री वितरण र प्रयोग गर्न रोक लगाउने निर्देशन दिएको थियो ।

सरकारको निर्देशनलाई उल्लंघन गर्दै मापदण्डमा तोकिएभन्दा पातलो प्लास्टिकको झोला बोके कसुर हेरी ५० हजार रुपैयाँसम्मको कारबाही हुनेछ ।