ठमेलमा नयाँ बर्षको अवसरमा रात्री महोत्सव, युवायुवतीको बाक्लो जमघट

0 20

काठमाडौँ, चैत ३० – नयाँ वर्षको पूर्वसन्ध्यामा सोमबार काठमाण्डौको पर्यटकीय क्षेत्र ठमेलमा रात्री सडक महोत्सव भइरहेको छ ।

ठमेल पर्यटन विकास परिषद्ले आयोजना गरेको महोत्सवमा चर्चित कलाकारले विविध साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले उद्घाटन गर्दै मुलुकको पर्यटन प्रवद्र्धनमा यस्ता गतिविधि फलदायी हुने बताए।

उनले प्रमुख ठमेलको पर्यटन प्रवद्र्धनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले सक्दो सहयोग गर्ने भन्दै यसका लागि गुरुयोजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा, पर्यटन महायज्ञका संयोजक दीपक महत, संयुक्त पर्यटन समन्वय समिति (जेटिसीसी) का संयोजक डिबी लिम्बुलगायतले ऐतिहासिक पर्यटकीय क्षेत्र ठमेलको विकासका लागि सबै एकजुट हुनुपर्ने बताए ।

त्रिदेवीमार्गमा आयोजना गरिएको महोत्सवमा सयौँ युवायुवती झुम्मिएका छन् । ठमेलसहित दरबारमार्गलगायतका पर्यटकीय क्षेत्र तथा विभिन्न पार्टी प्यालेस, डान्स बार र रेष्टुरामा पारिवारिक जमघट र जोडीहरुको घुइँचो लागेको छ ।

महोत्सवको रौनक राति दुई बजेसम्म साङ्गीतिक कार्यक्रम आयोजना हुने परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिए । रासस