युवा संघको विवाद मिलाउन संयुक्त छलफल

0 19

३० चैत, काठमाडौं । एमाले पोलिटब्यूरो सदस्य तथा युवा फाँटका इञ्चार्ज शेरधन राईले युवा संघको विवाद समाधान गर्ने पहल थालेका छन् ।

पार्टीको कार्य विभाजनपछि युवा संघको इञ्चार्ज बनेका राईले विवाद समाधानको पहलस्वरुप सोमबार संस्थापन पक्ष र दिलु पन्त पक्षलाई आफ्नै कार्य कक्षमा बोलाएर छलफल गरेका छन् ।

संसदको सुशासन तथा अनुगमन समितिका सभापतिसमेत रहेका राईले आफ्नै कार्यकक्षमा कार्यवाहक अध्यक्ष सूर्य ढकालसहित संस्थापन पक्ष र उपाध्यक्ष दिलु पन्तसहित असन्तुष्ट पक्षका पदाधिकारीसँग परामर्श गरेका हुन् ।

बैठकमा संघका कार्यवाहक अध्यक्ष सूर्य ढकाल,उपाध्यक्ष दिलकुमारी पन्त, महासचिव राजिव पहारी, सचिवहरु किरण पौडेल, नरेश शाही, हस्तबहादुर शाही, क्रान्ति बुर्लाकोटी लगायत पदाधिकारीहरुको उपस्थिति थियो ।

पहिलो चरणको छलफलमा संघको विधानमै रहेर समाधानको खोजी गर्ने निर्णय भएको युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिए । अब केही दिनमै संघको विवाद विधान अनुरुप नै समाधान गर्ने राईले बताएका छन् ।

युवा संघ अध्यक्ष निरु पाल बिरामी परेका कारण हाल उपाध्यक्ष सूर्य ढकाल कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छन् । महेश बस्नेतले अध्यक्षबाट राजीनामा दिएर निरु पाल अध्यक्ष भएदेखि नै दिलु पन्त पक्षले संघका आधिकारिक भेला बैठक बहिस्कार गर्दै आएको छ ।