लुम्विनीमा ९ महिनापछि लाइसेन्स वितरण

0 11

३० चैत, रुपन्देही । लुम्विनी अञ्चलमा ९ महिनापछि दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन खुल्ला भएको छ । गत असारदेखि रोकिएको लाइसेन्स वितरण गर्न यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र वितरण कार्यालय लुम्विनीले फारम वितरण शुरु गरेको छ ।

आवेदन फाराम लिनका लागि पहिलो दिन नै सेवाग्राहीहरुको कार्यालयमा भिड लागेको छ । टोकन लिनका लागि सेवाग्राहीहरु रातभर लाईनमा बसेपनि सबैले टोकन पाएका छैनन् ।

चार पाङ्ग्रेको अझै अनिश्चित

गृहकार्य नपुगेको भन्दै विगत ९ महिनादेखि चालक अनुमति पत्र वितरण बन्द गरिएको थियो । दुई पाङ्ग्रेको मात्र आवेदन लाइसेन्स वितरण गरेपछि लगत्तै जीप, कार र भ्यानको फाराम खुला गर्ने कार्यालय प्रमुख अनिता गुभाजुले जानकारी दिए । चार पाङ्ग्रेे सवारी साधनको लाइसेन्स वितरण गत साउनदेखि र हेभी सवारी साधनको अनुमति पत्र ०६९ देखि वितरण हुन सकेको छैन ।

कार्यालयले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै पहिले आवेदन र पछि लिखित तथा ट्रायल परीक्षा गर्न लागेको हो । अहिले ट्रायल दिने स्थान बुटवल उपमहानगरपालिका वडा नम्बर-१३ स्थित तिनाउ नदीको बगरमा छ । ड्राइभिङ स्कुल संघ लुम्विनीले बुटवल उपमहानगरपालिकासँग भाडामा लिइ ट्रायलको लागि स्थान सञ्चालन गरेको हो ।

– See more at: http://www.onlinekhabar.com/2015/04/265438/#sthash.QzUunBWs.dpuf