ओलीले धरहराबाट नयाँ सन्देश दिने

0 16

३० चैत, काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०७२ को स्वागत र पूरानो वर्ष २०७१ को बिदाई भिमसेन स्तम्भ धरहराको टुप्पोमा बसेर गर्ने भएका छन् ।


अध्यक्ष ओलीले धरहराको टुप्पोमा बसेर नेपालको राष्ट्रिय एकता, सम्बृद्धि र नयाँ संविधानको सन्देश नयाँ ढंगले दिन चाहेको ओली निकट स्रोतले जनाएको छ । ‘नयाँ वर्षसँगै संविधानमा सबै पक्षबीच सहमतिको नयाँ सम्भावना पनि उहाँले खोज्नुहुनेछ’ ओलीका स्वकीय सचिव रमेश आचार्यले भने ।’

अपरान्ह ४ बजे ओली एमालेका केही नेता कार्यकर्ता सहित धरहरामा जाने र एक घण्टाजति धरहराको टुप्पोबाट राजधानीलाई नियाल्ने कार्यक्रम रहेको आचार्यले अनलाइनखबरलाई बताए ।

धरहराको निर्माण तत्कालिन प्रधानमन्त्री भिमसेन थापाले विक्रम सम्बत १८८२ सालमा गरेका थिए । ओलीले यहि भीमसेन स्तम्भमा बसेर नयाँ वर्षको नयाँ योजना बनाउन लागेका हुन् ।

धरहरा चढ्नुअघि ओली संविधानसभाको बैठकमा भाग लिन संविधानसभा भवनमा जानेछन् । यसअघि ओलीले एमाले संसदीय दलको बैठकमा सभासदहरुलाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराएका छन् ।

-Source : Online Khabar