एक वर्षमा ८५ चलचित्रमा ३५ करोड लगानी

0 17

०७१ साल असफलकै वर्ष, तर सिकायो यी कुरा

२०७१ चैत ३० गते ८:५० मा प्रकाशित
 70  9

 0

aaryan-nd-namrata-november-विजय आवाज

जब कुनै वर्षको अन्त्य हुन्छ, त्यसको समीक्षा आ-आफ्नै ढंगबाट गरिन्छ । यो वर्षको आज अन्तिम दिन । नेपाली चलचित्र क्षेत्रले वर्षभरि पाएका र गुमाएका कुरालाई विभिन्न तपवरबाट समीक्षा गरिँदैछ ।

हरेक वर्षजस्तै यसपटक भने पुराना वर्ष जे जसरी बिते, नयाँ वर्ष राम्रोसँग बितोस् भनेर शुभकामना आदान-प्रदान हुँदैछ । नेपाली चलचित्र क्षेत्रको हकमा पनि यो कुरा गतवर्ष जस्तै यसवर्ष पनि लागू भएको छ । वि.सं ०७० मा जे जस्तो भए पनि वि.सं ०७१ आशा लाग्दो होस् भनिएको एक वर्ष भयो । आखिर, गत वर्षको अन्त्यमा हामीले राखेको आशा र दिएको शुभकामना के पुरा भयो त ?

नेपाली चलचित्र क्षेत्र भनिरहँदा हामीले दिल खोलेर उद्योग भन्न सकेका छैनाैं । कारण, नेपाल सरकारले यसलाई उद्योगको मान्यता नै दिएको छैन । तर, वर्षभरि प्रदर्शनमा आएका करिब ८५ वटा चलचित्रको सूचीलाई हेर्ने हो भने, के यो क्षेत्र उद्योग बन्न लायक छैन, बहस गर्नुपर्ने जरुरी छ ।

करिब ८५ वटा चलचित्रमा भएका लगानीलाई औषतमा मान्ने हो भने पनि, ३५ करोड रुपैयाँ नेपाली चलचित्रका लागि खर्च भएको छ । वर्षमा करिब ३५ करोड लगानी हुने चलचित्र क्षेत्र उद्योग बन्न सबैभन्दा पहिला आवश्यक छ ।KABADDI-Nepali-Film-UK

दोस्रो कुरा, हामीले वर्ष ०७१ मा के पायौं त ? यो वर्ष प्रदर्शनमा आएका चलचित्रलाई हेर्ने हो भने आधा दर्जन चलचित्रको व्यापार निर्मातालाई केही फाइदा दिने खालको छ । ‘नोभेम्बर रेन, कबड्डी, कोहिनुर, हिम्मतवाली, लज्जा, जेरी’ लगानी उठाएर निर्मातालाई केही फाइदा दिने चलचित्र हुन् । उसो त, यी चलचित्रको आधिकारिक व्यापार थाहा पाउने आधार केही पनि छैन ।

यीबाहेक ‘बिर्खेलाई चिन्छस्, टलकजंग भर्सेस टुल्के, स्टूपिड मन, पुनर्जन्म, भुल भूलैया’ औषत चलेका चलचित्र हुन् । हुन त, निर्माताले चलचित्रका बारेमा आ-आफ्नै दाबी पस्केको पाइन्छ । दुई चलचित्र ‘नाई नभन्नु ल ३ र हवल्दार सुन्तली’ प्रदर्शनकै क्रममा रहेकाले अहिले नै यसलाई श्रेणीमा राख्नु उपयुक्त हुँदैन ।

करिब ८५ वटा चलचित्रको भिडमा १० वटा चलचित्रले पनि मुस्लिकले निर्मातालाई खुशी नदिनु सुखद कुरा होइन । हामीमा एउटा प्रथा छ, एउटा चलचित्र चल्ने वित्तिकै खुसी हुने र सबै समस्या समाधान भयो भन्ने सोच हामी बोक्छाैं । दर्शक एउटा चलचित्र हेर्न हलमा आउँदा हामीलाई लाग्छ, अब प्रदर्शनमा आउने सबै चलचित्र चल्छन् । सायद यही सोचेर होला, चलचित्र क्षेत्रलाई हित गर्ने भनेर खोलिएका विभिन्न संघसंस्था कानमा तेल हालेर बस्छन् ।

नेपालको गति र चलचित्रको गति उस्तैखालको छ । नेपालको राजनीतिक अस्तव्यस्तताले निम्त्याएको हालत हेर्दा हामीलाई लाग्छ, साच्चै नेपाल चल्न त चलेको छ तर कसरी ? चलचित्र पनि यस्तै हो । यहाँ वर्षमा ३५ करोड लगानी भएको छ, तर केका लागि ? यसरी हेर्दा निर्मातालाई त मान्नैपर्छ ।

असफलताको वर्षले यो वर्ष पनि निरन्तरता पाइरहँदा दुखी भएर पुर्पुरोमा हात राख्नुपर्ने अवस्था भने छैन । हामीमा गर्ने भन्दा बोल्ने बानी धेरै छ । चलचित्रका वास्तविक निर्माता र चलचित्रकर्मी मरिरेको अवस्थामा गफ हानेर खान पल्कने केही चलचित्रकर्मी यहाँ हाबी छन् । सुरुमा यो कुराको अन्त्य हुन जरुरी छ । नेपाली चलचित्रमा ‘काम गर्ने कालु, मकै खाने भालु’को उखान चरितार्थ हुन्छ ।

हामीमा सिक्ने कुराको अभाव छ । आफूले गरेको सिर्जनालाई कसैले अगाडि ठिक्क पारिदिँदा मख्ख पर्ने बानी हामीमा छ । हामीले कहिले सिक्नै खोजेनौं, खोज्यौं त मात्र प्रशंसा । यही प्रशंसाले हामीलाई सधैं पछाडि पारिरहेको छ ।birkhe-in

वर्ष ०७१ बिदा हुँदै गर्दा हामीलाई धेरै कुरा सिकाएर गएको पनि छ । यो कुरालाई मनन गर्ने वा नगर्ने भन्ने कुरा मात्र हो । नेपाली चलचित्र असफल हिजो पनि भएको थिएन र आज पनि भएको छैन । उत्पादन बढेपछि त्यस अनुसार असफलको दर बढ्नु ठूलो कुरा होइन । दर्शकलाई हामीले के दियौं भन्ने हामीले कहिले सोच्ने ?

नीति नियम नभएको, मन लाग्दी चलचित्र बनेको यो क्षेत्रमा धन्न आजसम्म दर्शक हलमा आएर पैसा खर्च गरिदिएका छन् । हामी एउटा कुरामा स्पष्ट हुन के जरुरी छ भने, वर्षमा चलेका ८५ वटा चलचित्र जस्ता भए पनि हेर्न दर्शक हलमा किन आउने ? एउटा दर्शकले वर्षमा ८५ वटा नेपाली चलचित्र हेर्न सक्छ या सक्दैन ? सक्दैन भने हामी किन बनाउँछौं यति धेरै चलचित्र ?

निराशाजनक होइन, आशावादी कुरा गरौं । यो वर्ष लगानी उठाएका भनिएका चलचित्र किन चले भनेर हामीले समीक्षा किन गरेनौं ? सधैं चलचित्र चल्दैन, दर्शक हलमा आएनन् भनेर किन हामी माइकका अगाडि भट्टयाइरह्यांै ? विभिन्न संघसंस्थाका अध्यक्षहरु कार्यक्रममा पुगेर चलचित्र चलोस् भनेर शुभकामना दिनु भन्दा अन्य के काम गरे ? के उनीहरुले कुनै दिन एकै थलोमा बसेर छलफल र समस्याको समाधान खोज्ने कोशिश गरे ?

‘हवल्दार सुन्तली र नाई नभन्नु ल ३’ जस्ता चलचित्र चलेपछि खुशी हुने हामीले ‘अलबिदा, तथास्तु, आभाष, माला, षडङ्ग’ जस्ता चलचित्र असफल हुँदा कारण खोज्न किन सकेनौं ? भोलिबाट लाग्दै गरेको नयाँ वर्षमा नेपाली चलचित्रलाई फलिफाप होस् भनेर शुभकामना दिँदै गर्दा, एकपटक हामी सोचौं कि हामी कहाँ चुक्यौं ? हामीले अब गर्नुपर्ने काम के हुन् ?

कानमा तेल हालेर सुस्ताइरहने र निर्माता मरिरहोस् भन्ने सोच राख्ने हो भने वर्ष ०७२ पनि असफलताको सूचीमा पर्‍यो भनेर अन्त्यमा समीक्षा कोर्नुबाहेक हामीसँग कुनै उपाय नै हुनेछैन । सबैले एक पटक सोचौं । खुशी हुने दिन ‘नाई नभन्नु ल ३ र हवल्दार सुन्तली’ हेर्न आएका दर्शक हेर्दा होइन, वर्षमा चल्ने ४० वटा चलचित्रमा सबै चलचित्रका निर्माता बाँच्दा आउँछ ।

-Source: Online Khabar