निजी विद्यालयको शुल्क वृद्धिविरुद्ध अखिल क्रान्तिकारी आन्दोलित

0 9

३० चैत, काठमाडौ । निजी विद्यालयहरुले एक्कासी चर्को शुल्क वृद्धि गरेको भन्दै नेकपा-माओवादीसम्बद्ध अनेरास्ववियू (क्रान्तिकारी)ले सोमबार देशैभरका निजी विद्यालयको लेखाशाखामा तालाबन्दी गर्ने भएको छ ।
शुल्क वृद्धिको विरुद्धमा सोमवार देशैभरका छानिएका निजी शैक्षिक संस्थाका लेखा तथा प्रशासन शाखामा तालाबन्दी गर्ने कार्यक्रम रहेको अखिल क्रान्तिकारीका महासचिव रत्न ढकालले बताए ।

आगामी शैक्षिक सत्रका लागि निजी विद्यालयहरुलाई संस्थागत रुपमा नै २३ देखि ४३ प्रतिशत सम्म शुल्क वृद्धिको अनुमति दिइएपछि क्रान्तिकारीहरु आन्दोलित भएका हुन् ।

जिल्ला शिक्षा कार्यालय काठमाडौ र नवलपरासीले शुल्क वृद्धिका लागि अनुमति दिएको क्रान्तिकारीले शिक्षा कार्यालयको पनि ध्यानाकर्षण गराएको छ ।

गत जेष्ठ ७ गते अखिल (क्रान्तिकारी) र शिक्षा विभागबीच अनाधिकृत रुपमा वृद्धि गरिएको शुल्क समायोजन गर्ने सहमति भए पनि सहमति कतै पनि कार्यान्वयन नगरिएको क्रान्तिकारीका अध्यक्ष गौतमले बताए ।

यस्तै, निजी शैक्षिक संस्थाहरुका लेखा तथा प्रशासन शाखामा लगाइएको तालवन्दीको कार्यक्रम विस्तार गरी वैशाख २ गते देशैभरिका जिल्ला शिक्षा कार्यालयहरुमा २ घण्टा धर्ना कार्यक्रम रहेको क्रान्तिकारीले जनाएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख ३ गते शिक्षा विभागमा धर्ना दिने कार्यक्रम रहेको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष सुरेश गौतमले सोमवार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

सर्बोच्च अदालतको आदेशलाई आधार मानेर विगत २०६८ सालमा कायम भएको शुल्कको आधारमा नयाँ निर्णय गरिनु पर्नेमा त्यसो नगरी निजी शैक्षिक संस्थाहरुले सर्वोच्चको आदेशको समेत अवज्ञा गरेको क्रान्तिकारीको आरोप छ ।

– See more at: http://www.onlinekhabar.com/2015/04/265116/#sthash.mm2XLMUu.dpuf