चोरलाई अन्य पेशामा पुनःस्थापनाको प्रस्ताव, काठमाडौका प्रत्येक वृत्तमा ५० भन्दाबढी चोर

0 8

३० चैत, काठमााडौ । अनेक उपाय अपनाउँदा पनि काठमाडौमा चोरीका घटना नियन्त्रण गर्न नसकेपछि काठमाडौको प्रहरीले चोरलाई अन्य पेशामा पुनःस्थापनाको प्रस्ताव गरेको छ । चोरीलाई स्थायी पेशा बनाउँदै आएकालाई सुधार्न उसले पुनस्र्थापन अवधारणा ल्याएको हो ।

जतिपटक पक्राउ गरे पनि तत्काल धरौटीमा छुट्ने कानूनी सुविधा र चोरीबाहके अन्य पेशा नहुँदा चोरी घटना नियन्त्रण गर्न कठिन भएको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी उत्तम कार्कीले उनीहरुलाई अन्य पेशामा पुनस्र्थापन गर्न प्रस्ताव गरेको नागरिक दैनिकमा खबर छ ।

काठमाडौका प्रत्येक वृत्तको हिरासतमा ५० जना भन्दा बढी चोरी घटनामा संलग्न रहेको आरोपमा हिरासतमा रहने गरे पनि चोरी घटाउन नसकेको कार्कीले बताए । चोरीमा संलग्न भएवापतको कानूनी सजयँ न्यून हुँदा उनीहरु पक्राउ परेर धरौटीमा छुटेपछि पुनः चोरीमा संलग्न हुने गरेको उनले बताए । कार्कीका अनुसार काठमाडौमा करिब एक हजार जना चोरीमा सक्रिया छन् ।

महानगरीय प्रहरी कार्यालयका अनुसार गत असारदेखि चैत २८ सम्म उपत्यकामा ३८० चरीका घटना भएका छन् । गत वर्ष करिब तीन सय वटा चोरीका घटना भएका थिए ।