वाग्लुङ १ मा कांग्रेस उम्मेदवार चम्पा खड्का विजयी

0 10

२९ चैत, काठमाडौं । बाग्लुङ क्षेत्रनम्बर १ को उपनिर्वाचनमा कांग्रेस उम्मेदवार चम्पादेवी खड्का विजयी भएकी छन् । उनले १७ हजार १५४ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार मन केसीले १५ हजार ६८ मत पाइन् ।

एमाओवादीको जमानत जफत

कांग्रेस एमाले बाहेक अरु सबै उम्मेदवारको जमानत जफत भएको छ । उपनिर्वाचनमा १३ उम्मेवार प्रतिस्पर्धामा थिए । तेस्रो स्थानका एमाओवादी उम्मेदवार कृष्णबहादुर केसीले २ हजार ५०५ मत पाए । दोस्रो संविधानसभा निर्वाचनमा झण्डै ६ हजार मत पाएको एमाओवादीले उपनिर्वाचनमा जमानत समेत जोगाउन सकेन ।

चौथो स्थानमा राष्ट्रिय जनमोर्चा रह्यो । राजमोका नेत्र बुढाथोकीले १ हजार ९४९ मत पाए । मालेका कुलबहादुर किसानको पक्षमा ४४४ मत पर्‍यो ।

राप्रपा नेपाल र राप्रपाका संयुक्त उम्मेदवार नविनचन्द्र सर्बुजाले २६५ मत पाए ।

बाग्लुङ क्षेत्रनम्बर १ मा दोस्रो संविधानसभा निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो । कांग्रेस सभासद हरिबहादुर खड्काको निधन पछि शनिबार उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा विजयी चम्पादेवी खड्का हरिबहादुरकी श्रीमती हुन् ।

५२ हजार २ सय २ मतदातामध्ये ३८ हजारले शनिबारको उपनिर्वाचनमा मतदान गरेका थिए ।

‘प्रधानमन्त्रीले बालुवाटारबाटै शक्ति प्रयोग गरे’

नेकपा एमालेले बाग्लुङको उपनिर्वाचनमा नेपाली कांग्रेसले धाँधली गर्ने उद्देश्यले बल प्रयोग गरेको आरोप लगाएको छ ।

मत परिणाम आफ्नो पक्षमा पार्न कांग्रेसले प्रहरी शक्तिको दुरुपयोग गरी एमालेका ६ जना कार्यकर्तालाई पक्राऊ गरेको आरोप एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले लगाए ।

मतदानमा एमालेको प्रभाव देखिएपछि धाँधलीका लागि प्रधानमन्त्री सुशील कोइरालाको ठाडो निर्देशनमा एमाले कार्यकर्तालाई गिरफ्तार गरिएको थापाले आरोप लगाएका छन् ।

आफ्ना कार्यकर्ताको रिहाइ नभएसम्म मतगणना गर्न नदिने एमालेको अडानको कारण केहीबेर मतगणनामा ढिलाइ भएको थियो । एमालेका प्रतिनिधिहरु मतगणना आधा सकिएपछि मात्रै मतगणना भैरहेको जिल्ला विकास समितिको हल भित्र प्रवेश गरेका थिए ।