तीस दलीय मोर्चामा जाँदैनौं, छुट्टै आन्दोलन थाल्छौं: राजेन्द्र महतो

0 6

२९ चैत, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तीस दलीय मोर्चाको औचित्य सकिएको भन्दै अब मोर्चाको बैठकमा मधेसवादी दलहरु सहभागी नहुने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा महतोले ३० दलीय मोर्चाका अध्यक्ष प्रचण्डले के गर्छन् आफूहरुलाई मतलव नभएको समेत बताएका छन् ।प्रचण्डकै दोधारे चरित्रको कारण मोर्चा औचित्य हिन बनेको भन्दै सद्भावनाका अध्यक्ष महतोले भने-तीस दलीय गठबन्धनले अब काम चल्दैन । मधेसीहरुलाई यो मोर्चा चाहिँदैन ।’

मधेसीहरु छुट्टै आन्दोलन गर्न सक्षम रहेको भन्दै उनले आन्दोलनको तयारीमा आफूहरु लागेको स्पष्ट पारे । अब पनि मधेसीहरुले आरपारको लडाई लड्न नसके अधिकार नपाउने उनको दाबी थियो ।

महतोले अबको आन्दोलन उधारो सम्झौतामा नटुङ्गिने भन्दै मधेस प्रदेशको भूमि कसैलाई पनि एक ईन्च दिन तयार नरहेको बताए । उनले भने-‘मधेसमा बस्ने सबै मिलेर बस्छन् । विभाजन हुन दिदैनौं, गर्न खोजे दुर्भाग्यपूर्ण हुन्छ ।’

दुई तिहाईको दम्भलेसंविधान निर्माणको प्रक्रिया सुरु गरे आफूहरुको लागि संविधानसभा औचित्यहीन हुने भन्दै उनले संविधानसभा परित्याग गरेर आन्दोलनमा उत्रने चेतावनी दिए ।

उनले भने-बहुमतको दम्भले संविधान बनाउन सके बनाए हुन्छ । म चुनौति दिन्छु, बनाउन सक्ने भए बनाउनुस् ।’