हजुरबुबालाई भेट्न दौडिदै बाटो काटेका बालकको ट्रकले किचेर ज्यान लियो

0 10

हजुरबुवालाई देख्नासाथ बाटो काटेर गएका एक बालकको ट्रकले कुल्चिएर घटनास्थलमै मृत्यु भएको छ।

पूर्व–पश्चिम लोकमार्गमा ना ५ख ३७१ नंम्बरको ट्रकले कुल्चिएर शम्भुनाथ २ कनकपट्टीका दिपेन्द्र चौधरीका सात बर्षीय छोरा नमन चौधरीको घटनास्थलमै मृत्यु भएको हो। घरबाट आमा प्रतिमा चौधरीसँग म्याजिक गाडीमा मामाघर गएका बालक सडकमा ओर्लिनासाथ बाटो काटेर मावली हजुरबुवा भेटन दौडिएका अन्नपूर्ण पोस्टमा खबर छ।

भंगहामा नयाँ बन्दै गरेको मामाघर अगाडि हजुरवुवालाई देखेपछि बीच सडकमै ओर्लिएका बालक आमाबाट छुट्टिएर बाटो काटेका थिए। एक मात्र छोराको आँखा अगाडि नै मृत्यु भएको घटनाले आमा मुर्छित अवस्थामा उपचारार्थ अस्पताल भर्ना भएकी छन्। ट्रक र चालकलाई कल्याणपुर प्रहरीले नियन्त्रणमा लिएको छ।