गभर्नर डा. नेपाल जन्म गाउँमा भावुक भए

0 9
नेपाल राष्ट्रबैकके गर्भनर बनेको ठीक ३ सातापछि डा. चिरञ्जीवी नेपाल आफ्नो जन्मगाउँ पाल्पाको पालुङमैनादी पुगेका छन्। त्यहाँ पुगेका उनलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए।
विजय नेपाल, पोखरा, २९ चैत – नेपाल राष्ट्रबैकके गर्भनर बनेको ठीक ३ सातापछि डा. चिरञ्जीवी नेपाल आफ्नो जन्मगाउँ पाल्पाको पालुङमैनादी पुगेका छन्। त्यहाँ पुगेका उनलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए।

 

धर्मपत्नीसहित जन्मगाउँ पुगेका डा. नेपाल स्थानीय प्रभात माविको नवनिर्मित भवनको उद्घाटन गर्नुका साथै धार्मिक एवं पर्यटकीय महत्व कान्ताश्रम योगीकुटी स्थलको पनि उद्घाटन गरे । प्रभात माविको परिसरमा आयोजित विशेष समारोहमा बोल्दै डा. नेपालले आफ्नो जन्मगाउँलाई कहि गए पनि नभुल्ने बताए । यही गाउँमा जन्मिएर आफूलाई पाल्पाली भनेर चिनाएको बताउँदै उनले गाउँको विकासमा सक्दो योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।

 

उनले भने, भोक तपाईहरुलाई लाग्नुपर्छ भोजन खुवाउने काम मेरो हुनेछ। गाउँका आफ्नै दाजुभाइ, दिदीबहिनी, इष्टमित्र तथा गाउँलेहरुले घेरिएका उनी सम्बोधनका क्रममा भावुक बनेका थिए। सो क्रममा उनले विद्यालयमा निर्मित ३५ लाख रुपैयाँको नयाँ भवनको उद्घाटन गरेका थिए। यसैगरी उनले कान्ताश्रम योगीकुटी स्थल तथा त्यहाँ निर्मित मन्दिरको पनि उद्घाटन गरे।

 

कार्यक्रमअघि उनी गाविसको वडा नं. २ स्थित पोखरावरिमा आफू जन्मेको घरमा पुगेका थिए । त्यहाँ बस्दै आएका आफ्नो साहिलो बुवाका परिवार तथा आफन्तसँग भेटघाटपछि उनलाई पञ्चैबाजाले स्वागत गर्दै विद्यालयमा पुर्याईएको  थियो।

 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुलबहादुर कुँवर, सहायक प्रमुख जिल्ला अधिकारी टंक पाण्डे, विद्यालयका प्रअ रमेश भट्टराई, पूर्वप्रअ नेत्रप्रसाद नेपाल, शिक्षक संगठन पाल्पाका अध्यक्ष एवं विद्यालयका भूपूप्रअ कृष्णबहादुर थापा, शिक्षक मदन आचार्य, कृष्णबहादुर कुँवर, कान्ताश्रम पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष डिल्लीराम नेपाल, पाल्पाका जिल्ला शिक्षा अधिकारी, रेडाका अध्यक्ष लीलाबहादुर कार्की, हरिबहादुर कुँवर लगायतले बोलेका थिए । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा. नेपाललाई गत चैत ५ गते नेपाल राष्ट्रबैकको १६ औ गभर्नरको रुपमा ५ वर्षको लागि मनोनीत गरेको थियो । फोटो छ।