३४ वटा हात्ति चढेर यसरी सुरु भयो गैंडा गणना

0 11

चैत २८ गते-
नेपालमा शनिबारदेखि गैंडा गणना सुरु भएको छ । वन तथा भू–संरक्षण मन्त्रालयले विभिन्न निकायको सहकार्यमा मुलुकभर एक सिङ्गे गैंडाको गणना कार्य सुरु गरेकाे हो ।

वन विभाग र राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोषको आर्थिक एवम् प्राविधिक सहयोगमा आगामी एक महिनासम्म गैंडा गणना कार्य हुनेछ ।

सम्बन्धित प्राविधिक विज्ञ र राष्ट्रिय निकुञ्जका कर्मचारीको सहयोगमा २४ वटा हात्तिको प्रयोग गरेर गणना सुरु गरिएको हो । गणनामा योबर्ष चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका २८, पर्सा वन्यजन्तु आरक्ष कार्यालयका चार र राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रका दुई गरी ३४ वटा हात्ती प्रयोग गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले जानकारी दिए । चालीस जना गणकलाई प्रयोगात्मक अभ्याससहितको तालिम दिइएको पनि उनले बताए ।

हरेक दिन बिहानैदेखि सुरु हुने गणना त्यसदिन जहाँ अन्त्य गरिन्छ भोलिपल्ट त्यही स्थानबाट सुरु गरिने राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

कुनै पनि गैंडा नछुटुन् र नदोहोरिउन् भनेर एकरदुई सय मिटरको फरकमा राखिने हात्तिको करिब दुई, तीन किलोमिटर लामो लाइनका माध्यमले सबैलाई एकैचोटी गनिनेछ ।

यो विधि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक प्रल्हाद योञ्जनले विकास गरेका थिए । यस विधिबाट नेपालमा सन् १९९४ देखि प्रत्येक चार वर्षमा गैंडा गणना हुँदै आएको छ ।

gaida-ganana-chitwan
यसैबीच, गैंडा गणना कार्यको वनमन्त्री महेश आचार्यले पर्सा वन्यजन्तु आरक्ष रमौली प्रतापपुरबाट शुभारम्भ गरेका छन् । उनले वन्यजन्तु संरक्षण तथा भावी रणनीति निर्माणमा सघाउ पुग्ने बताए ।

निकुञ्जले बितेका चार वर्षमा गरिएका कामको परिणाम र राज्यद्वारा तर्जुमा गरिएका रणनीतिक योजनाको सफलता/असफलता गणनाबाट चित्रित हुने पनि बताए ।

स्थानीय जनता र निकुञ्जबीचको संयुक्त प्रयासबाट मात्र संरक्षण प्रभावकारी हुने बताउँदै उनले त्यसतर्फ लाग्न निकुञ्जका अधिकारीलाई निर्देशन दिए ।