सुरशालाले ‘यूट्युब आइडल’ गर्दै

0 8

सुरशाला म्युजिक एकेडेमी काठमाडौंले नेपालमै पहिलोपटक भिडियो शेयरिङ गर्ने सामाजिक संजाल यूट्युबमा आधारित राष्ट्रव्यापी गायन प्रतिस्पर्धा ‘सुरशाला यूट्युब आइडल–२०७२’ आयोजना गर्ने घोषणा गरेको छ ।

७ वर्षदेखि १६ वर्षसम्मका गायनमा प्रतिभा भएका बालबालिकादेखि किशोर–किशोरीसम्मलाई प्रतिस्पर्धा गराइने यो प्रतियोगितालाई ‘राष्ट्रव्यापी अन्तर–विद्यालय यूट्युव गायन प्रतियोगिता’ को रुपमा सञ्चालन गर्न लागिएको सुरशाला म्युजिक एकेडेमीका निर्देशक तथा गायक अमृत क्षेत्रीले बताएका छन् । प्रतियोगितामा सहभागी हुन इच्छुक १६ वर्षभन्दा कम उमेरका प्रतिभाले मोबाइल अथवा क्यामराबाट आफूलाई मनपर्ने नेपाली गीत गाएर भिडियो रेकर्डिङ मार्फत अडिसन दिनसक्नेछन । तीन मिनेट अवधीको उक्त भिडियोसंगै सहभागीले आफ्नो नाम, विद्यालयको नाम तथा सम्पर्क नम्बर खुलाउनु पर्नेछ । उक्त भिडियोलाई सुरशालाको फेसबुकको पेज तथा विद्यालयको इमेल ठेगानामा पठाउनु पर्नेछ । । अडिसनका लागि वैशाख मशान्तसम्म भिडियो पठाइसक्नु पर्नेछ ।

सुरशाला म्युजिक एकेडेमीद्वरा बिहिबार जारी  विज्ञप्तीमा पहिलो चरणबाट उत्कृष्ट  सय भिडियो छनौट गरिनेछ । त्यसपछि दोस्रो चरणका लागि उत्कृष्ट ५० प्रतिस्पर्धीको छनौट हुनेछ । छनोटमा परेका उत्कृष्ट ५० लाई सुरशाला संगीत विद्यालयले १५ दिने विशेष तालिम दिनेछ। प्रशिक्षणबाट क्रमश: उत्कृष्ट ३०, उत्कृष्ट १५, उत्कृष्ट १० तथा उत्कृष्ट १० को छनौट गरिने छ । उत्कृष्ट दश प्रतिस्पर्धी बीच ग्रान्ड फिनाले गर्दै ‘सुरशाला यूट्युब आइडल’ छनौट गरिनेछ ।

असारको अन्तिम साता सम्पन्न हुने ग्रान्ड फिनालेमा सुरशाला युट्युब आइडलको उपाधी जित्नेले एकेडेमीको तर्फबाट एक लाख ५० हजार रुपैयाँ बराबरको गायन विषयमा तीन वर्षे डिप्लोमा छात्रवृति पाउनेछ । यसबाहेक एउटा गीतको रेकर्डिङ ता म्युजिक भिडियो निर्माण गरिनेछ । त्यस्तै फस्ट रनर अपले एक लाख रुपैयाँ बराबरको गायनमा दुई वर्षको छात्रवृत्ति तथा एउटा गीत रेकर्डिङ गर्ने अवसर पाउनेछन् भने सेकेण्ड रनरअपले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति तथा एउटा गीत रेकर्डिङ गर्न पाउनेछन् ।