बागलुङमा उपनिर्वाचन आज, बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुने

0 15

२८ चैत, बागलुङ । बागलुङ क्षेत्र नम्बर एकमा शनिबार संविधानसभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनमा बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुँदैछ । मतदानका लागि स्थानीयबासी विभिन्न मतदान केन्द्रमा पुग्दैछन् ।


निर्वाचनका लागि बागलुङ नगरपालिकाका ११ वडा र १९ गाविसका ७० स्थानलाई मतदान केन्द्र तय गरिएको छ । उक्त क्षेत्रमा ५२ हजार दुई सय दुई मतदाता रहेका छन् ।

जिल्ला सदरमुकाम सहित ३५ ओटा मतदान केन्द्रमा ७० बुथ तोकिएका छन् । हरेक बुथमा एक मतदान अधिकृत सहित ५ जना कर्मचारी खटाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी शेषनारायण पौडेलले बताए ।

त्यस्तै प्रत्येक बुथमा सई र असईको नेतृत्वमा कम्तिमा १४ देखि १७ जना प्रहरी परिचालित छन् । सशस्त्र प्रहरीको सात ठाउँमा स्टाइकिङ फोर्स बसेको छ ।

मतदानको दिन सबै मतदान केन्द्र र बुथमा सशस्त्र प्रहरीले गस्ति गर्नेछ । विद्युतीय मतदान गर्न सबै मतदातालाई प्रशिक्षित गरिएको छ । उपनिर्वाचनमा ५२ हजार मतदाताले मतदानमा भाग लिनेछन् ।

२०७० मंसिर ४ गते भएको संविधानसभा निर्वाचनमा विजयी बनेको सभासद् हरिबहादुर खड्काको सडक दुर्घटनामा परी निधन भएकाले उक्त स्थानमा पुनः निर्वाचन भएको हो ।

निर्वाचनमा ११ राजनीतिक दलका १० उम्मेद्वार र तीन स्वतन्त्र उम्मेद्वार गरी १३ जनाले प्रतिष्पर्धा गरेका छन् । मतदान केन्द्रलाई सुरक्षित बनाइएको र पर्याप्त मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।