पाँचथरको तल्लो हेवाखोला जलविद्युत आयोजनासँग स्थानीयका माग बढदो

0 17

२८ चैत, पाँचथर । फिदिम र नांगीन गाविसको सिमानाबाट बग्ने हेंवा खोलाबाट निर्माण गर्न लागिएको तल्लो हेवाखोला जलविद्युत आयोजना ‘बि’सँग आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयहरुले विभिन्न माग राखेका छन् ।


उक्त आयोजनाबाट प्रभावित फिदिम नगरपालिका, भारपा र नांगीन गाविसका स्थानीयवासीले आयोजनाको निर्माण कम्पनि माउण्टेन हाइड्रो प्रालिसँग जग्गा धनिलाई मुआब्जा उपलब्ध गराउनुपर्ने, योजनाबाट खेती हुन नसकेमा र वन तथा वातावरण क्षेत्रमा पर्ने असरको क्षतिपुर्ति उपलब्ध गराउनुपर्ने, सो क्षेत्रका बासिन्दाले उपभोग गर्दै आएको खानेपानीको मुलमा असर पुग्ने भएकोले वैकल्पिक खानेपानीको व्यवस्था मिलाइदिनुपर्ने र न्यूनतम पचास प्रतिशत स्थानीयबासीलाई रोजगारीको अवशर दिनुपर्ने, १० प्रतिशत शेयर स्थानियलाइ वितरण गरीनुपर्ने, लगायत १८ बुँदे माग राखेका छन् ।

यस्तै आयोजनाबाट प्रभावित भारपाका स्थानीयले समेत आयोजनासँग विभिन्न माग राखेका थिए । पछिल्लो पटक आयोजनाबाट प्रभावित नांगीन १ का स्थानीयले विभिन्न ११ बुँदे माग अघि सारेर केही दिन आयोजनाको काममा अवरोध पुर्‍याएका छन् । स्थानीयले उठाएका माग सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा मागहरुका बिषयमा क्रमश छलफल गर्दै जाने तर, आयोजनाको काम पनि निरन्तर अघि बढाउने सहमति भएको थियो ।

नांगीन १ का स्थानीयले दिलबहादुर आङ्बोको अध्यक्षतामा सरोकार समिति गठन गरि आफ्ना मागहरु अघि सारेका हुन् । उनीहरुले मोटरबाटो मर्मत गर्नुपर्ने, विद्युतिकरण गर्नुपर्ने, खानेपानीको व्यवस्था गर्नुपर्ने, स्थानीय युवाहरुलाई दक्षता र क्षमताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेका थिए । यस्तै मठ मन्दिर तथा विद्यालय मर्मत गर्नुपर्ने, नांगीन १ मा सञ्चालित कुलोबाट सिंचाईको सुविधा लिइरहेकाहरुले सो सुविधा प्राप्त गर्न नसक्ने भएकाले क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । छलफलबाट सक्ने जति मागहरु क्रमश पुरा गर्दै लैजाने सहमति जुटेको र अवरोध केही दिनमै हटेको माउण्टेन हाइड्रो प्रालिका श्याम अधिकारीले वताए ।

गत मंसिरबाट निर्माण सुरु भएको २१ दशमलब ६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना ‘बि’ निर्माण कार्य निर्माण सुरु भएको ३० महिना भित्रमा गरिसक्ने लक्ष्य राखिएको अधिकारीले वताए । साढे ५ मिटर लामो सुरुङ खन्ने कार्य सुरु भएको र हालसम्मका १ सय ५० मिटर सुरुङ निर्माण भइसकेको अधिकारीको भनाई छ ।

-Source: Online khabar