पूर्वराजा ज्ञानेन्द्र भारत, पारस भने अस्पताल धाउँदै

0 27

२८ चैत, काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित शुक्रवार भारतको नयाँदिल्ली गएका छन् । बेलुकी पौने पाँच बजे उडेका उनले नातिनी पूणिर्का र संवाद सचिव डा.फणिराज पाठकलाई सँगै लगेका छन् ।


नयाँदिल्लीमा पूर्वराजाले उच्चस्तरीय भेटवार्ताका साथै पत्नी कोमलको स्वास्थ्य उपचार गराउनेछन् । दरबार हत्याकाण्डका बेला कोमलको शरिरमा लागेको छर्रा शल्यक्रिया गरेर निकालिने नयाँ पत्रिकामा खबर छ ।

ज्ञानेन्द्रको भ्रमणको चाँजोपाँजो मिलाउन पूर्व युवराज्ञी हिमानी, ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमिल्सिना र निर्मल निवासका केही कामदार २२ चैतमा दिल्ली गइसकेका छन् । यसपटक बस्नका लागि अपार्टमेन्ट नै लिएकाले पूर्वराजाको भ्रमण लामो हुने अपेक्षा गरिएको छ ।

यसअघि पूर्वै राजाले २१ कार्तिकदेखि १ मंसिरसम्म नयाँदिल्ली भ्रमण गरेका थिए । त्यतिबेला पारिवारिक भ्रमण भनिए पनि होटल लीला प्यालेसमा बसेर उनले उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

थाइल्याण्डबाट फर्केलगत्तै मठमन्दिरमा पूजाआजामा सक्रिय पूर्वयुवराज पारस शाहल भने अहिले अस्पताल धाइरहेका छन् । नर्भिक अस्पतालका डाक्टरले तीन दिनदेखि उनको स्वास्थ्य परीक्षण गरिरहेका छन् । अस्पतालमा पारसको मुटु र मस्तिष्कको विशेष परीक्षण गरिएको छ ।

-Source: Online Khabar