सुशील, ओली र प्रचण्ड वागमतीमा पस्ने

0 13

२७ चैत, काठमाडौं । शनिबार बिहानै काठमाडौं उपत्यकामा अभूतपूर्व मानव एकताको दृश्य देखिँदैछ । राजनीतिमा सहमति र सहकार्य गर्न नसकिरहेका सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरु समेत एक जुट भएर वागमती सफाइ अभियानमा जुट्दैछन् ।

शनिबार बिहान सात बजेदेखि सुरु हुने वागमती सफाइ अभियानमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डलगायतका शीर्ष नेतासमेत प्रत्यक्ष रुपमा सहभागी हुनेछन् ।

त्यसैगरी नेपाल सरकारका मुख्ससचिव, सचिवसहित सबै तहका कर्मचारी, संघसंस्था र नागरिक समाजका सदस्य तथा सर्वसाधारण जनताले वागमतीमा भेला भएर ५६ किलोमिटरको क्षेत्रमा मानव साङ्लो बनाउनेछन् ।

एमाले अध्यक्ष केपी ओली थापाथलीबाट बागमती सफाइमा पस्दैछन् भने एमाओवादी अध्यक्ष प्रचण्ड तीनकुनेको भीएस निकेतन स्कुल नजिकैबाट बागमतीमा पस्दैछन् ।

प्रधानमन्त्री सुशील कोइराला पनि बिहान ७ बजे नै वागमतीमा पुग्ने छन् । तर, सुरक्षाको दृष्टिले प्रधानमन्त्रीको स्थान सार्वजनिक गरिएको छैन । गृहमन्त्री वामदेव गौतम टेकु नजिकैबाट वागमती सफाइमा लाग्ने छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेललगायतका कांग्रेस नेताहरु सानेपास्थित पार्टी कार्यालय नजिकैबाट वागमती सफाइमा खटिने छन् ।

एमाओवादी नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महरालगायतका पदाधिकारीहरु प्रचण्डसँगै तीनकुनेबाट बागमती सफाइमा खटिने छन् ।

कांग्रेसको आह्वान

वागमती सफाइको एक सय हप्ता पुगेको उपलक्ष्यमा शनिबार बिहान हुने वागमती सफाइ अभियानमा खट्न नेपाली कांग्रेस र एमालेले छुट्टा छुट्टै वक्तव्य निकालेर कार्यकर्तालाई आह्वान गरेका छन् ।

कांग्रेस र एमालेले जस्तै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले पनि प्रेस वक्तव्य निकालेर वागमती सफाइमा ऐक्यवद्धता जनाएको छ ।

नेपाली कांग्रेसका सभापतिको हैसियतबाट वक्तव्य जारी गर्दै प्रधानमन्त्री सुशील कोइरालाले वागमती सफाइ अभियानमा सहभागी हुन आफ्ना नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

कांग्रेस सभापतिको वक्तव्यमा भनिएको छ- ‘काठमाडौँ उपत्यकाको तीव्र शहरीकरणका कारण बागमती लगायतका नदीनालाहरु दिनप्रतिदिन प्रदुषित बन्दै गएका छन् । बागमती सभ्यतालाई बचाई राख्न विभिन्न समयमा पहलहरु पनि नभएका हैनन् । बागमतीलाई सफा र कञ्चन पानी बग्ने नदिको रुपमा रुपान्तरित गरेर यसका किनारमा हरियाली कायम गर्दै राजधानी उपत्यकालाई सफा र सुन्दर शहरको रुपमा विकसित गर्न सकिन्छ भन्ने विगतदेखि नै नेपाली कांग्रेसको धारणा रहेको छ ।’

कोइरालाले आफ्ना कार्यकर्तालाई सफाइ अभियानमा सहभागी हुन आग्रह गर्दै भनेका छन्-बागमती सफाई अभियानको १०० औँ हप्ताको रुपमा भोलि २०७१ चैत्र २८ गते शनिबार विहान ६ः३० बजे गोकर्णदेखि सुन्दरीघाट चोभारसम्म मानव साङ्लो एवं नदी सफाई अयिभानमा सहभागी बनी बागमतीलाई सफा, स्वच्छ र सुन्दर बनाउने यस अभियानमा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरु लगायत आम जनसमुदायको सक्रिय सहभागिताका लागि नेपाली कांग्रेस हार्दिक आहृवान गर्दछ ।’

बागमती नदीलाई मात्र नभई देशका अन्य भूभागबाट बग्ने नदीनालाहरुलाई पनि प्रदुषित हुनबाट जोगाउन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्‍याउन आवश्यक रहेको कोइरालाले बताएका छन् । ‘मानव सभ्यताको विकास नदी किनारबाटै प्रारम्भ भएकोले यसको संरक्षण गर्नु हामी सबैको जिम्मवारी र दायित्व पनि हो’ प्रधानमन्त्री कोइरालाले वक्तव्यमा भनेका छन् ।

एमाले नेताहरुको तयारी

नेकपा एमालेले पनि एक प्रेस वक्तव्य जारी गर्दै शनिबार बिहान वागमती सफाइमा खटिने नेताहरुको कार्यतालिकासमेत सार्वजनिक गरेको छ ।

एमालेका तर्फका केपी ओली थापाथलीमा खटिने भएका छन् । त्यस्तै झलनाथ खनाल बल्खुबाट र माधव नेपाल शंखमूलबाट वागमती सफाइमा सहभागी हुने भएका छन् ।

नेकपा एमालेको कार्यालयका दिएको जानकारी अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, सचिवहरु प्रदीप ज्ञवाली र भीम आचार्यलगायत पार्टीका सबै सभासद र अन्य नेता तथा कार्यकर्ताहरु थापाथलीमा भेला भएर वागमती सफाइमा लाग्ने छन् ।

त्यसैगरी बल्खु क्षेत्रबाट बरिष्ठ नेता कमरेड झलनाथ खनाल, अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा, उपाध्यक्षहरु युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव पृथ्वी सुब्बा गुरुङ्ग, स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल तथा केन्द्रीय सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, राधाकृष्ण मैनाली, सूर्य थापा, जीवनराम श्रेष्ठलगायतका नेता वागमती सफाइमा लाग्ने एमालेले जनाएको छ ।

त्यसैगरी शंखमूलमा माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्यूरो सदस्यहरु विष्णु रिमाल, बिन्दा पाण्डे र सानु श्रेष्ठ, अग्रज नेताहरु सिद्धिलाल सिंह र गोपाल शाक्य तथा केन्द्रीय सदस्यहरु ठाकुर गैरे, सावित्रा भुसाल, रामकुमारी झाँक्री, रामकुमार ज्ञवाली र सुशिला नेपाल खटिने भएका छन् ।

bagmati100weeks

एमाओवादीको आह्वान

एमाओवादी महासचिव कृष्णबहादुर महराले उपत्यकाका तीनै जिल्ालका कार्यकर्तालाई आफ्नो पायक पर्ने स्थानमा भेला भएर वागमती सफाइमा लाग्न आह्वान गरेका छन् ।

प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले नेता कार्यकर्तालाई बिहानै तीनकुनेमा भेला भई सफाइ अभियानमा लाग्न आग्रह गरिएको बताएका छन् ।

वैद्य माओवादीका तर्फबाट पम्फा भुसालले वक्तव्य जारी गर्दै नेता कार्यकर्तालाई अभियानमा लाग्न भनेकी छन् ।