बाग्मती सफाइ महाअभियानमा सहभागी हुन दुई माओवादीको निर्देशन

0 13

काठमाडौँ, २७ चैत । एकीकृत नेकपा(माओवादी)ले बाग्मती सफाइ महाअभियानमा सक्रिय सहभागिता जनाउन आ–आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

एमाओवादीका महासचिव कृष्णबहादुर महराले काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका नेता तथा कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई शनिबार आ–आफ्नो पायक पर्ने स्थानमा गई सफाइ अभियानमा सहभागी बन्न निर्देशन दिनुभएको छ ।

एमाओवादीले शनिबार बाग्मती सफाइ महाअभियान सञ्चालन भएको सयौँ हप्ता पुगेको अवसरमा बाग्मती नदीको दुवै किनार गरी १६ किलोमिटरको दूरीमा मानव साङ्लो बनाई अभियानप्रति ऐक्यबद्धता जनाउन आग्रह गरेको हो ।

यसैगरी, नेकपा–माओवादीले भोलि हुने विशेष अभियानमा सहभागी हुन सम्पूर्ण पार्टी, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता र आम जनतालाई अपिल गरेको छ ।

पार्टी प्रवक्ता पम्फा भुसालले आज विज्ञप्ति जारी गर्दै स्वच्छ र सफा बाग्मतीका लागि सभ्य नागरिकको भूमिका पूरा गर्न भोलि आ–आफ्नो अनुकूल स्थानमा उपस्थित भई महाअभियानमा सहभागी हुन आग्रह गर्नुभएको छ ।

यसैबीच, एकीकृत नेकपा (माओवादी)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि बाग्मती सफाइ महाअभियानमा सहभागी हुन सबैमा आग्रह गर्नुभएको छ ।

नेता डा भट्टराईले आफ्नो नेतृत्वको सरकारले सुरु गरेको स्वयम्सेवा अभियान सफलताको दिशामा अगाडि बढेको पनि उल्लेख गर्नुभएको छ । रासस