फिलिप ह्युजको सम्झनामा खेलिने क्रिकेटको ट्रफी सार्बजनिक

0 17

२७ चैत, काठमाडौं । क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन ब्याट्सम्यान फिलिप ह्युजको सम्झनामा नेपालमा खेलिने ६३ ओभरको खेलको ट्रफी शुक्रबार काठमाडौंमा सार्बजनिक गरिएको छ ।

नेपालका शक्ति गौचन र अष्ट्रेलियाका रायन कार्टरले संयुक्तरुपमा ट्रफी सार्बजनिक गरे ।

‘ट्रिब्यूट म्याच खेल्न पाउँदा हामीहरु निकै खुसी र उत्साहित छौं,’ ट्रफी सार्बजनिक कार्यक्रममा कार्टरले भने । त्यस्तै नेपालका शक्ति गौचनले टेस्ट नेशनका महत्वपूर्ण खेलाडीको ट्रिब्यूट म्याच खेल्न पाउनु आफूहरुका लागि ठूलो कुरा भएको बताए ।

नोभेम्बर २७ मा सिड्नी क्रिकेट मैदानमा बलले लागेर ह्युजको निधन भएको थियो । उनैको सम्झनामा शनिबार टियू क्रिकेट मैदान कीर्तिपुरमा अष्ट्रेलियन खेलाडीहरुको सहभागितामा ६३ ओभरको खेल हुनेछ । खेलका लागि अष्ट्रेलियाबाट तीन खेलाडीहरु नेपाल आएका छन् । उनीहरुलाई नेपाली खेलाडीहरुमा मिलाएर दुई समुहमा बिभाजन गरिएको छ ।

कार्टरले नेतृत्व गरेको टिम रातो जर्सिमा रहने छ । निलो जर्सिमा रहने अर्को टोलीको नेतृत्व नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले गर्नेछन् । दासले यही खेलबाट अन्तराष्ट्रिय खेलबाट सन्यास लिने घोषणा गरेका छन् ।

– Source : onlinekhabar