प्रहरी जवान भर्ना प्रक्रिया विवादमा एसएसपी खरेल मुछिए

0 16

एसएसपी रमेश खरेल प्रहरी जवान भर्ना प्रक्रियाको विवादमा मुछिएका छन्। मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख रहेका खरेलले जवान भर्नाका लागि अन्तर्वार्ता लिँदा लोकसेवा आयोगको सामान्य सिद्धान्तभन्दा बाहिर गएर नम्बर दिएपछि विवादित बनेका हुन्।

भर्ना छनोट समितिका अध्यक्षसमेत रहेका खरेलले समितिका अन्य सदस्यलाई दबाबमा राखेर लोकसेवाको सिद्धान्तविपरीत बढी नम्बर दिएपछि जवानको अन्तर्वार्ता फेरि सञ्चालन हुने भएको छ। लोकसेवाले भर्ना प्रक्रियाजस्तो गम्भीर विषयमा सिद्धान्तविपरीत गएर काम भएको भन्दै प्रहरी मुख्यालयलाई पत्र पठाएपछि अर्को अन्तर्वार्ताका लागि समय निर्धारण गरिएको अन्नपूर्ण पोस्टमा खबर छ।

मानव स्रोत विकास विभागअन्तर्गत भर्ना तथा छनोट शाखाले आगामी वैशाख २ गतेदेखि ७ गतेसम्म जवानका लागि अन्तर्वार्ता लिने समय तोकेको छ। विभागका प्रमुख एआईजी रमेशशेखर बज्राचार्यले विशेष कारणवश अन्तर्वार्ता परीक्षा रद्द गरिएको बताए। तर विभागकै अर्का एक अधिकृतले भने लोकसेवाको सिद्धान्तविपरीत भएकाले रद्द गरिएको जानकारी दिए।

अन्तर्वार्ताको पूर्णांक २० मध्ये कम्तीमा ८ र अधिकतम १२ नम्बर दिनुपर्ने प्रावधान छ। तर अन्तर्वार्ता दिएका धेरै परीक्षार्थीलाई अधिकतम १२ नम्बरभन्दा बढी दिएको स्रोतले बतायो। स्रोतका अनुसार अन्तार्वार्तामा १७ नम्बरसम्म पाउने परीक्षार्थी पनि छन्। आयोगको सिद्धान्तअनुसार १२ नम्बरभन्दा बढी दिनुपरेमा विशेष कारण खुलाएरमात्रै दिनुपर्छ। तर खरेल अध्यक्ष रहेको परीक्षा समितिले चित्तबुझ्दो कारण नखुलाई अधिकतम नम्बर दिएको छ।