कुवेतमा ठगिए नेपाली

0 11

७ चैत, काठमाडौं । घरेलु कामदारका रूपमा कुवेत पुगेका नेपालीसँग बिमा र सेवाशुल्कबापत पाँच वर्षयता झन्डै ६४ करोड रुपैयाँ असुलेको स्थानीय एक कम्पनीले त्यसबापत क्षतिपूर्ति र सेवा दिन आनाकानी गरिरहेको खुलेको छ। कुवेतस्थित नेपाली दूतावासले नेपाली कामदारसँग बिमा र सेवाशुल्क उठाउन सन् २०१० जुनमा अल–हुकुक इन्टरनेसनल इन्सुरेन्स ब्रोकरिङ कर्पोरेसनसँग सम्झौता गरेको थियो।

त्यसबापत कम्पनीले कुवेतमा रहेका नेपाली घरेलु कामदार घाइते वा मृत्यु हुँदा क्षतिपूर्ति रकम दिनुका साथै अप्ठेरोमा परेकालाई सम्पूर्ण सेवा उपलब्ध गराउनुपर्छ। तर उक्त कम्पनीले एक वर्षदेखि आफ्नो जिम्मेवारी निर्वाह गरेको छैन जसले नेपाली दूतावास र नेपाली कामदार अप्ठेरोमा परेको नागरिकमा खबर छ ।

नेपाली दूतावासले पाँच वर्षअघि सम्झौता गरेको अल–हुकुक नामक कम्पनी श्रीलंकाको कालोसूचीमा परेको कम्पनी हो। वैदेशिक रोजगारमा गएका कामदारको बिमा र सेवाशुल्क उठाएर सेवा नदिएको भन्दै श्रीलंकाले कालोसूचीमा राखेको कम्पनीसँगै तत्कालीन नेपाली राजदूत मधुवन पौडेलले सम्झौता गरेका थिए। तत्कालीन परराष्ट्रमन्त्री सुजाता कोइरालाले नै सम्झौता गर्न अनुमति दिएकी थिइन्।

दूतावाससँगको सम्झौताअनुसार अल–हुकुकले कुवेत पुगेका प्रत्येक नेपाली घरेलु कामदारसँग सुरुमा ५० कुवेती दिनार (१६ हजार ६ सय रुपैयाँ) उठाउने गरेको थियो। त्यसमध्ये साढे ८ दिनार बिमाशुल्क र बाँकी साढे ४१ दिनार सेवाशुल्कबापत उठाउँथ्यो। केही वर्षपछि सम्झौता संशोधन गरेर प्रतिव्यक्ति ३५ कुवेती दिनार (११ हजार ६ सय २० रुपैयाँ) कायम गरियो, जसमध्ये बिमाशुल्क ८.५ र सेवाशुल्क २६.५ दिनार थियो। बिमा रकम बहराइनको बिमा कम्पनीमा जान्थ्यो भने सेवाशुल्क ऊ आफैंले लिन्थ्यो। अल–हुकुक आफैं बिमा कम्पनी नभए पनि तत्काली नेपाली राजदूतले बिमासम्बन्धी सम्झौता गरेका थिए।

दूतावास स्रोतका अनुसार उक्त कम्पनीले बिमा र सेवाशुल्क तिरेका नेपाली कामदारलाई एक वर्षदेखि पर्याप्त सेवा उपलब्ध गराएको छैन। यस अवधिमा घाइते वा मृत्यु भएकालाई बिमा रकम र क्षतिपूर्ति तिर्न पनि मानेको छैन। अप्ठेरोमा परेका नेपाली महिलालाई राखिने सेल्टर (आवासगृह) को घरभाडासमेत नतिरेको स्रोत बताउँछ। भाडा बक्यौता रहेकैले दूतावासले सोमबारदेखि उक्त सेल्टर बन्द गरेको छ। सेल्टर बन्द हुनु एक दिनअघिसम्म अल–हुकुकले बिमा र सेवासुल्क उठाउँदै आएको थियो।

सेल्टर सञ्चालन गर्दा लाग्ने सम्पूर्ण खर्च, घरभाडा, त्यहाँ आश्रित महिलाको खाने, बस्ने, औषधिउपचार, आवतजावत, नेपाल फर्किंदा लाग्ने सबै खर्च अल–हुकुकले नै बेहोर्नुपर्ने सम्झौतामा उल्लेख छ।

‘दूतावाससँग भएको सम्झौताअनुसार सेल्टरको सम्पूर्ण खर्च अल–हुकुकले नै बेहोर्नुपर्छ, तर अहिले आएर उसले एक वर्षयताको घरभाडा नबेहोर्ने जानकारी गराएको छ,’ दूतावास स्रोतले नागरिकसँग भन्यो, ‘बिमाबापतको क्षतिपूर्ति रकम पनि कोही कोहीले मात्र पाएका छन्।’