सेनाले पूर्वसैनिकलाई साढे चार अर्ब लगानी गर्ने

0 14

२७ चैत, काठमाडौं । नेपाली सेनाले भूतपूर्व सैनिकलाई स्वरोजगार बनाउन साढे चार अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। अवकास सैनिकलाई आत्मनिर्भर बनाउनका लागि अबको पाँच वर्षभित्र यो रकम लगानी गर्ने तयारी गरिएको हो।

यसबाट करिब ४५ हजार पूर्व सैनिकलाई स्वरोजगार बनाउने योजना सेनाको छ। यसका लागि सैनिक कल्याणकारी कोष मार्फत पूर्व सैनिकलाई सहुलियत ब्याजमा ऋण प्रदान गरिने अन्नपूर्ण पोस्टमा छ।
सेवामा रहँदाको सीप र ज्ञान अवकासपछि काम नलाग्ने तथा पेन्सनले मात्र जीविका चलाउन मुस्किल भइरहेको गुनासो पूर्व सैनिकले बारम्बार गरेपछि उनीहरूलाई आत्मनिर्भर बनाउन लागिएको हो। विभिन्न सीप सिक्न तथा व्यावसायाम आवद्ध गराई उनीहरूलाई स्वरोजगार बनाउने उद्देश्यले यति ठूलो रमक लगानी गर्न लागिएको सेनाको भनाइ छ।
यस विषयमा छलफल गर्न सेनाले बिहीबार सुर्खेतमा भूपू सैनिकको मध्यपश्चिम क्षेत्रीय सम्मेलन सम्पन्न गरेको छ। सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत चित्रबहादुर गरुङले लघुवित्त कार्यक्रममार्फत साढे चार अर्ब रकम भूपू सैनिकलाई आत्मनिर्भर तथा स्वरोजगार बनाउनका लागि लगानी गर्न लागिएको जानकारी दिए। उनका अनुसार अबको पाँच वर्षभित्रमा यो रकम लगानी भैसक्ने छ।
यसबाट देशभरीका करिब ४५ हजार पूर्व सैनिक स्वरोजगार बन्नेछन्। यो कोषमार्फत हालसम्म ३५ करोड एक लाख रुपैयाँ लगानी भइसकेको र करिब तीन हजार जना भूपू सैनिक स्वरोजगार बनिसकेको गुरुङले बताए।
पूर्व सैनिकलाई विभिन्न सीपमूलक तालिम, कृषि तथा पशुपालन र अन्य व्यावसाय गर्न कोषले बैंकमार्फत सहुलियतमा ऋण प्रवाह गर्नेछ। लगानी नभएकै कारण पूर्व सैनिकका परिवारलाई जीविकोपार्जनमा समस्या भइरहेकाले यस्तो योजना अगाडि सारिएको नेपाली सेनाले जनाएको छ।