युरोपली युनियनले उठायो तेस्रो संविधानसभाको कुरा

0 17

२६ चैत, काठमाडौं । प्रमुख दलहरुबीच संविधानका विवादित विषयमा सहमति जुटाउन असफल भइरहेका बेला नेपाल भ्रमणमा रहेको युरोपली युनियनको संसदीय प्रतिनिधि मण्डलले तेस्रो संविधानसभाको सम्भावनाबारे प्रश्न गरेको छ ।

इयूको टोलीले बिहीबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटेर सहमतिबाट संविधान बनाउन सुझाव मात्र दिएन, नेपालमा तेस्रो संविधानसभा निर्वाचनको सम्भावनाबारे प्रश्न समेत गरेको छ ।

इयुको टोलीले सभाध्यक्ष नेम्वाङलाई उनकै कार्यकक्ष सिंहदरवारमा भटेको थियो । भेटमा टोलीले कहिलेसम्म संविधान बन्छ भनेर चासो राखेपछि नेम्वाङले अहिलेसम्म भएका कामबारे जानकारी गराए ।

सहमतिका लागि पछिल्लो पटक दलहरुलाई दिएको समय ३० गते पुग्ने र सोही दिन बैठक रहेको भन्दै नेम्वाङले दलहरुबीच सहमति भए त्यही अनुसार र नभए नियम कानुन र प्रचलित अभ्यास अनुसार अघि बढने बताए । दलहरुले आफूलाई २ घन्टामा सहमति गर्छु भनेको महिनौं भएको पनि उनले सुनाए ।

नेवाङले दलका नेताहरुलाई भेट्ने कार्यक्रम छ भनेर इयुको टोलीलाई सोधे । उनीहरु छ भनेपछि नेम्वाङले ‘हामी युरोप फर्कनुअघि नै त्यो दुई घन्टा आउँछ कि आउँदैन ?’ भनेर दलहरुलाई सोध्न सुझाए । नेम्वाङले यसो भन्दा उनीहरु हाँस्दै हुन्छ भनेका थिए ।

त्यसपछि केही सदस्यहरूले प्रश्न गरे । त्यही क्रममा इयू टोलीका एक सदस्यले तेस्रो संविधानसभाको सम्भावना छ कि छैन भने नेम्वाङलाई प्रश्न गरे । उनले सोधे-‘यो संविधानसभाले सहमतिमा संविधान बनाउन नसकेको अवस्थामा तेस्रो संंविधानसभा निर्वाचन हुनसक्छ ? यसबारे अम जनताको धारणा कस्तो छ ?’

जवाफमा नेम्वाङले यो संविधानले नै संविधान बनाउने र तेस्रो संविधानसभा हुन नसक्ने बताएको नेम्वाङले जानकारी दिएका छन् । अघिल्लो संविधानसभाले चार वर्ष काम गरेको र अहिलेको संविधानसभाले त्यसको स्वमित्व ग्रहण गरेर अघि बढेको भन्दै सभाध्यक्ष नेम्वाङले भने-तेस्रो संविधानसभाको चुनाव कल्पनाभन्दा परको कुरा हो । यो जनताले स्वीकार गर्दैनन् ।’

सहमतिबाट संविधान बनाउन दबाव

स्रोतका अनुसार भेटमा इयूको टोलीले सहमतिबाटै संविधान बनाउन दबाव दिएका छन् । स्रोतका अनुसार इयूको टोलीले ‘यो संसद होइन’ भन्दै सहमतिबाट मात्र संविधान बनाउनु पर्नेमा जोड दिएको छ ।