बेलायती युवराज विलियम नेपाल भ्रमणमा आउने

0 16

२६ चैत, काठमाडौं ।

बेलायती युवराज विलियम अर्थर फिलिप लुइस (विलियम)ले सपत्नि नेपालको भ्रमण गर्ने इच्छा ब्यक्त गरेका छन् । बेलायती सेनामा कार्यरत गोर्खासँग निकै प्रभावित युवराज विलियमले नेपाल बेलायत कूटनीतिक सम्वन्धको दुईसय बर्षगाँठको अवसरमा पुरानो मित्र मुलुक नेपाल आउने इच्छा देखाएका हुन् ।

बकिङ्घम दरबारले कसैको नाम नकिटी राजपरिवारको सदस्यले नेपाल भ्रमण गर्ने भन्दै त्यसको तारतम्य मिलाउन आफ्नो विदेशमन्त्रालयसँग भनेपछि यसको प्रारम्भिक प्रक्रिया अघि बढेको परराष्ट्र मन्त्रालय उच्चस्रोतले बतायो । नेपालको सबभन्दा पुरानो मित्र मुलुक बेलायतका युवाराज विलियम र युवराज्ञी केट मिडलटन नेपाल आउने तारतम्य मिलाउन दुवै सरकार लागिपरेका छन् । यसरी गृहकार्य सुरु भइसकेकोले भ्रमण प्रायः निश्चित हुने भए पनि नेपालको राजनीतिक उतारचढावको कारण निश्चिन्त भने हुन सक्ने अवस्था नभएको एक अधिकारीले बताए ।

नेपाल गणतन्त्रमा गएपछि पुरानो मुलुकको राजपरिवारबाट पहिलो पटक यस्तो भ्रमणको तयारी अघि बढेको हो । निकै प्रारम्भीक चरणमा रहेको भएपनि यस प्रकारको भ्रमण तय भएको छ महिना पछिमात्र हुने अन्तराष्ट्रिय प्रचलन छ । कूटनीतिक स्रोतका अनुसार विलियम सपत्नि नेपाल आउने सम्भावना नभए उनका भाई हेनरी चाल्र्स अल्वर्ट डेविड -ह्यारी)ले नेपालको भ्रमण गर्ने पनि स्रोतको दावी छ ।

बेलायतमा निर्वाचनको समय भएकोले यसको टुंगो लाग्न अझ केही समय लाग्ने भएपनि प्रारम्भीक तयारी भने अघि बढेको परराष्ट्र मन्त्रालयमा संलग्न एक अधिकारीले बताए । नेपाल र बेलायतले कूटनीतिक सम्वन्ध स्थापना भएको दुई सय बर्षगाठको आरम्भमा र्नै दूईपक्षीय उच्चस्तरको भ्रमणको हुने भनिएको थियो । उच्चस्तरको राजनीतिक भ्रमण नहुने प्रायः निश्चित भएको अवस्थामा राजपरिवारको तर्फबाट हुने भ्रमणले नेपाल बेलायत पुरानो सम्वन्धलाई थप उचाईमा पुर्‍याउने परराष्ट्रका अर्का अधिकारीले बताए । परराष्ट्र सचिव र नेपाल स्थित बेलायती राजदूत बीच समन्वय हुने र भ्रमणका कार्यक्रमहरु तय गर्ने प्रक्रिया अघि बढेको परराष्ट्र स्रोतले बतायो ।

‘कुन स्तरको भ्रमण हुने अझै टुंगो लाग्न बाँकी छ । दुईसय बर्षगाँठ मनाउने क्रममा उच्चस्तरको भ्रमण गर्ने विषयमा छलफलहरु भइरहेका छन् । बाहिर हल्ला भएको भन्दा फरक प्रकारको भ्रमण हुनसक्छ । उच्चस्तरको भ्रमणको विषय निकै प्रारम्भीक रुपमा रहेकाले अहिले नै यो वा त्यो भन्न सकिदैन,’ परराष्ट्रका कार्यबाहक सचिव शंकरदास बैरागीले कान्तिपुरसँग भने,’दुईसय बर्षगाँठ आगामी फागुनमा पुग्ने हुनाले त्यसभित्र कुनै उच्चस्तरको भ्रमण हुनेमा हामी आशावादी छौं ।’ आजको कान्तिपुरमा खबर छ ।