‘ट्याक्सी जलाउनेले पालोस् मेरी स्वास्नी र छोराछोरी’

0 41

२५ चैत, काठमाडौं । बालकुमारीमा मंगलबार ट्याक्सीभित्रै कपाल जलेका निरज बानियाँ यतिबेला गम्भीर पीडा र बिलखबन्दमा छन् । बधुबार अनलाइनखबरकर्मी सातदोबाटोको साम्पाङ चोकस्थित डेरामा पुग्दा ट्याक्सी चालक निरजले भने- ‘मलाई क्षतिपूर्ति चाहियो । मेरो ट्याक्सीको क्षतिपूर्ति कसले दिन्छ ? बन्दकर्ताले कि राज्यले ?’

मलेसियाबाट आफ्नै देशमा फर्केर दुखजिलो गरिरहेका निरजले आफ्नो ट्याक्सी जलेको भोलिपल्ट छोरी र पत्नीतिर देखाउँदै भने- ‘मलाई काम गरेर खाने साधन चाहियो, होइन भने मेरी स्वास्नी छोराछोरी उसैले लगेर पालोस् ।’

पहिले फाइनाइन्सबाट ठगिए, अहिले बन्दकर्ताबाट लुटिएँ

हेटौडाबाट काठमाडौं आएको झण्डै १४/१५ वर्ष भयो । ट्याक्सी चलाउन थालेको ६ वर्ष भयो । सुरुमा पाटन औद्योगिक क्षेत्रमा रहेको झोलुंगे पुल बनाउने संस्था स्ट्रक्चर नेपालमा काम गरें । केही वर्ष काम गरेपछि मलेसिया गएँ । मलेसियामा तीन वर्ष बस्दा पनि खासै उपलब्धी भएन । तीन वर्षमा २/३ लाख रुपैयाँ कमाएँ ।

मलेसियाबाट नेपाल फर्किएपछि कामको खोजीमा धेरैतिर धाएँ । आफूले भनेको जस्तो काम पाइएन । श्रीमतीले अब गाडी सिक्नुस् भनेर सल्लाह दिइन् । लाइसेन्स थिएन । यत्रो उमेर भइसक्यो, कहिले सिक्ने भनेर म आत्तिन्थेँ । तर, धैर्य गरेर २० दिनजतिमै गाडी चलाउन सिकेँ ।’

लाइसेन्स त लिएँ । तर, नयाँ चालकलाई साहुले पत्याएन । साथीभाइसँग बुझ्दा नयाँ चालकलाई गाडी नदिने रहेछन् भन्ने बुझें । उनीहरुले आफ्नै गाडी किन्न सुझाव दिए ।

आफूसँग पैसा थिएन । थोरै पैसा भएपछि गाडी निकाल्न पाइन्छ भनेर आफन्तले भनेपछि शान्तिनगरको निरुपमा रिकण्डिसनमा पुगें । पत्नी पनि सँगै गएकी थिइन् ।

चौरभरि गाडी राखेको थियो, हामीलेे बा १ ज १८७७ नम्बरको गाडी छान्यौं । साढे १० लाख पर्ने भयो । मसँग क्यास पैसा भएको भए आठ/साढे ८ लाखमा पाइने रहेछ । तर, फाइनान्सबाट लिँदा केही बढी पर्ने भयो ।’

मासिक २१ हजार किस्ता बुझाउने गरी गाडी लिएर आयौं । घर नजिकैका चालकले एक महिनाजति सहयोग गरे । त्यसपछि म सडकमा ट्याक्सी कुदाउने भएँ ।

यही ट्याक्सीले परिवारको दैनिकी चल्न थाल्यो । दिनको सात सय रुपैयाँ अनुपमा रिकण्डिसनमा बुझाउँथें । ३२ किस्तासम्म बुझाएँ । तर, सिन्सियर फाइनान्सबाट फोन आयो ।

‘तपाईले अहिलेसम्म किस्ता तिर्नुभएको छैन, अब हामी गाडी तान्छौं ।’ यो सुनेपछि म छाँगाबाट खसेजस्तो भएँ । ‘मैले दिनहुँ पैसा बुझाएको छु, मसँग अहिले पनि रसिद छ ।’ उनीहरुले भने, ‘कि गाडी तान्छौं, कि नयाँ प्रक्रियाबाट गाडी लैजानुस् ।’

मैले अनुपमामा झण्डै साढे चार लाख बुझाइसकेको थिएँ । तर, पैसा पाएको छैन भने पनि गरी खानु त पर्‍यो भन्दै म सिन्सियर फाइनान्स पुगें ।

गाडीको मुल्य पुरानै साढे १० लाख कायम भयो । उनीहरुले पैसा नराखी हुँदैन भने । ‘साथीभाइसँग सरसापट गरेर ५० हजार बुझाएर महिनाको १८ हजार बुझाउने गरी गाडी लिएर आएँ ।

अनुपामा बुझाएको करिब साढे ४ लाख रुपैयाँ त्यतिकै हरायो । संस्था टाट पल्टिएपछि त्यहाँ मेरो जस्तै झण्डै ४ सय गाडीको पैसा खाएका रहेछन् । सस्थाका मालिक त भेटिए तर, उनले कर्मचारीले नै डुबाएकाले मलाई मारे मार्नुस् भनेपछि मैले पैसा माया मारें ।

मैले १८/२० हजार इन्स्युरेन्स तिरेको थिएँ । नियमित पैसा पनि बुझाएको थिएँ । तर, २/३ वर्षमा पनि अझै ८ लाख बाँकी छ भनेपछि आफन्तसँग ऋण गरेर एकमुष्ट ८ लाख रुपैयाँ बुझाएर गाडी आफ्नो नाममा गरें ।

यसरी मेरो यो ट्याक्सीमा २०/२५ लाख खर्च भएको छ ।

गाडी यसरी जलाए

भाइको परिवार विदेश जाने भएकाले उनलाई पुर्‍याउन मंगलबार बिहानै विमानस्थल पुगें । फर्कने क्रममा कोटेश्वरमा दुई युवकले रोकेर बिरामीलाई पाटन अस्पताल लैजानुपर्‍यो भने । आफू पनि त्यतै जाने भएकाले मैले हुन्छ भनें ।

तर, यात्रु बनेर आएकाले नै मलाई ट्याक्सीभित्रै राखेर आगो लगाए । मुस्किलले ज्यान त बचाएँ । तर, परिवार पाल्न यतिका दुख गरेर किनेको ट्याक्सी आफ्नै अगाडि बल्यो ।

प्रहरी र आसपासमा भएका मानिसहरु एकै छिनमा आए । तर, रमिते बन्नेबाहेक केही भएन ।

Taxi todfod (5)

ट्याक्सीको अगाडि भएको मोइबल र कागजपत्र समेत झिक्न सकिँन । ती सबै जले । धन्न सिट बेल्ट नबाँधेका कारण म आफूचाहिँ बाहिर निस्कन सफल भएँ ।’

आगो लागेको गाडी गुड्दै रोडबाट बाहिर खस्यो । गाडीको पछि-पछि दौडिँदै रोइ कराइ गरें । तर, दमकल आइपुगुन्जेलमा मेरो ट्याक्सी पुरै जलिसकेको थियो । अरुका गाडीहरु चलिरहेका थिए ।

३० दलको पूर्वघोषित बन्द पनि सुरु भइसकेको थिएन । तर, मेरोमात्रै ट्याक्सी जल्यो । नाइट बस चलिरहेका थिए । तर, मेरो गाडीलाई मात्र किन टार्गेट गरियो ? मलाई थाहा छैन ।
ट्याक्सीमा आगजनी गर्नेहरुलाई म चिन्दिँन । हुन त उनीहरुसँग केहीबेर बार्गेनिङ पनि भएको थियो ट्याक्सीको भाडामा । तर, मैले उनीहरुको अनुहार याद गरिँन ।

आज बन्द छ भन्ने मलाई थाहा थियो । तर, विगतमा पनि बन्द सुरु हुनुअघि यात्रुहरु ल्याउने लैजान काम गरेको थिएँ । डेरामा चिया खाएर गए हुन्छ भनेका थिए, तर, बन्द छ, छिट्टै पुर्‍याएर आउँछु भन्दै निस्केको थिएँ । यस्तो होला भन्ने कल्पनासमेत थिएन । यस्तो दुःखद घटना होला भनेर कहिल्यै सोचेको थिइँन ।

गाडी चलाउँदा २/३ हजार कमाइ हुन्थ्यो । गाडीमा तेल हाल्नुपर्‍यो । परिवार चलाउनु पर्‍यो । अब गाडी जलेपछि छोरा छोरीको पढाइका लागि पनि समस्या छ । यो सानी छोरी हो (नजिकै रहेकी छोरीलार्इ देखाउँदै) । तीनमा पढ्छे । छोरा यो वर्षबाट कलेज जान सुरु भएको छ ।

काम गरेर खाने मााध्यम त्यही ट्याक्सी थियो । कोठाभाडादेखि खाने, बालबच्चाको स्कुलको फीसम्म त्यसैबाट चलेको थियो । अब सर्वश्व गयो ।

अब कसले जिम्मा लिन्छ ?

मेरो ट्याक्सी त जल्यो तर, न आन्दोलनकारीले जिम्मा लिएका छन् न राज्यले सम्बोधन गरेको छ । जिम्मा लिनुपर्‍यो । पार्टीले जिम्मा लिने हो कि, राज्यले लिने हो । मैले राहत पाउनुपर्‍यो ।

माओवादीहरु आफूलाई सर्वहारा वर्गको भन्छन् । काम गरेर खाने वर्गका लागि लडेको भन्छन् । मेरो प्रश्न छ- ‘मजस्तो दिनभरि काम गरेर बेलुकी परिवारको छाक टार्नेलाई गाडीमा नै राखेर जलाउन खोजेपछि कसरी गरीखान दिए ?’

घटनापछि मैले तीनकुने प्रहरीमा गएर मुचुल्का बुझाएँ । तर, अब के हुन्छ भन्ने केही भनेनन् । गृहमन्त्री बामदेव गौतमले गाडी चलाउनुस्, सरकारले सुरक्षा दिन्छ भनेर विज्ञप्ति निकालेकाले पनि सुनेका रहेछन् । दिइहाल्यो नि सुरक्षा …।

म काम गरेर खाने मानिस हो । अब मलाई क्षतिपूर्ति पाउने वातावरण बनाइदिन सबैंसँग आग्रह गर्छु । जसले दिए पनि मलाई क्षतिपूर्ति चाहियो । मलाई काम गरेर खाने साधन चाहियो । होइन भने मेरी स्वास्नी छोराछोरी उसैले लगेर पालोस् ।’
विरामी लैजानुछ भनेर आएकाहरुले ट्याक्सीमा आगजनी गरे । आजकलको जमानमा सहयोग गर्न खोज्दा आफैंलाई घात आइलाग्यो ….।

– Source : onlinekhabar