बाढीमा जोगिए, पहिरोले लग्यो

0 22
सुर्खेत : हरेक दिनजस्तै मंगलबार पनि बिहानै उठेर तातापानी-६ का कृष्ण विक घाटगाउँ-६, झ्यानझ्याने पुगे। गत साउन अन्तिम साता आएको बाढीले घरबार बगाएपछि विस्थापित शिविरमा बस्दै आएका उनी परिवारका लागि छाक टार्ने उपाय खोज्न घाटगाउँमा सञ्चालित सिँचाइ कुलोमा मजदुरी गर्दै थिए। नजिकै भएकाले उनी बिहानै जान्थे र साँझ शिविरमै फर्किहाल्थे। तर, मंगलबार भने उनी सधैंजस्तो शिविरमा फर्किएनन्।
ठूलो मात्रामा धनजनको क्षति हुने गरी गएको साउनमा आएको बाढीमा जसोतसो ज्यान जोगाएका कृष्णले मंगलबार भने आफ्नो ज्यान जोगाउन सकेनन्। कुलोमा काम गर्दै गर्दा माथिबाट खसेको पहिरोमा पुरिएर उनीसँगै पाँचजनाको मृत्यु भयो।
मृतकमध्ये चारजना कृष्णजस्तै विस्थापित शिविरबाट परिवारका लागि खानाको जोहो गर्नका लागि काम गर्न गएका बाढीपीडित थिए। बाढीलाई जितेका उनीहरू पहिरोसँग हार्न पुगे।
कृष्णसँगै पहिरोमा परी ज्यान गुमाउने तातापानी-६ का ४५ वर्षीय मनबहादुर नेपाली, ५५ वर्षीय प्रसादे विक र २५ वर्षीय महेश विक पनि साउनमा आएको बाढीबाट विस्थापित भएपछि गल्फास्थित विस्थापित शिविरमा बस्दै आएका थिए।
सरकारी तथा गैरसरकारी निकायले राहत दिन छाडेपछि उनीहरू छाक टार्न सिँचाइ कुलोमा काम गर्न घाटगाउँ पुगेका थिए। शिविरका अधिकांश पुरुष अहिले रोजगारको खोजीमा भारततर्फ हिँडे पनि उनीहरू भने गाउँमै मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए।
उनीहरूको मृत्युपछि विस्थापित शिविर अहिले शोकमा डुबेको छ। मृतकका परिवारको सपनासमेत अधुरै रहन पुगेको छ। उनीहरूको कमाइले जीविकोपार्जन गर्दै आएका परिवार बिचल्लीमा परेका छन्।
आठ महिनाअघि परेको बज्रपात भुल्न नसकिरहेका बेला विस्थापित शिविरका चार परिवारमा अर्को ठूलो बज्रपात परेको छ। उनीहरू यति बेला सरकारले समयमै आफूहरूको स्थायी व्यवस्थापन नगरेका कारण यस्तो पीडा भोग्न बाध्य भएको गुनासो गर्न थालेका छन्।
पहिरोमै पुरिएर घाटगाउँ-७ का ५८ वर्षीय मानबहादुर शाहीको पनि मृत्यु भएको छ। उनीहरूसँगै काम गर्ने तातापानीका चक्रबहादुर टमटा र घाटगाउँका पदम नेपालीले भने हामफालेर ज्यान जोगाएका छन्। घटनास्थल निकै जोखिमपूर्ण रहेको स्थानीयवासीले बताएका छन्।
ठूलो भीरबाट कुलो खन्नुपर्ने भएकाले अझै पनि पहिरो खस्नसक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी राजेशकुमार लाल कर्णले घटनापछि आफूहरूले तत्काल उद्धार गरेको बताए।
उनका अनुसार तातापानीमा रहेको अस्थायी प्रहरी चौकीबाट असई रामबहादुर क्षेत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो।
घाटगाउँमा सिँचाइका लागि बाबियाचौर-१, तिखाकुनादेखि १५ किलोमिटर लामो कुलो निर्माण गर्न लागिएको हो। २०६७ सालदेखि निर्माण सुरु भएको यो आयोजनाको तेस्रो चरणको काम सञ्चालन भइरहेको सिँचाइ कुलो उपभोक्ता समितिका अध्यक्ष जनकबहादुर रावलले जानकारी दिए।
उनका अनुसार यो आयोजना दुई वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो। तर, ठेकेदारको लापरबाहीका कारण तेस्रोपटक म्याद थप गरेर निर्माणकार्य अघि बढाइएको उनले जानकारी दिए। तेस्रो चरणअन्तर्गतको ४० प्रतिशत काममात्रै सम्पन्न भएको उनले जनाए।