८ महिनाकी गर्भवतीको विभत्स हत्या

0 12

दोलखा– जिल्लाको दक्षिणी भुषाफेदा गाउँकी एक गर्भवती महिला बिभत्स हत्या गरेर फालिएको अवस्थामा फेला परेकी छिन्। ८ महिनाको गर्भ बोकेकी उनको सुनियोजित हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

भुषाफेदा गाविस ६, पोर्सापकी १८ वर्षीया लालुमाया तमाङलाई मंगलबार दिउँसो गोठ नजिकैको जंगलमा मृत अवस्थामा फेला पारेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरीका अनुसार सोमबार साँझ घरभन्दा झण्डै डेढ घण्टाको दूरीमा पर्ने जंगल क्षेत्रमा रहेको गोठमा बास बस्न गएकी लालुमाया मंगलबार दिउँसो जंगल छेउको गुराँसको रुख मुनी फालिएको अवस्थामा भेटिएकी थिईन्। उनको हत्या भएको भन्दै माइती पक्षले अनुसन्धान गरी कडा कार्बाहीको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन तमाङले लालुमायाँलाई टाउकोमा चोट लागेको र घटनास्थल नजिकै रगतसहित कोदालो र ढुङगाहरु भेटिएको बताए। ‘कोदालो र ढुङ्गा प्रहार गरेर हत्या गरी १ सय ५० मिटर घिसारेर फालिएको देखिन्छ’ तमाङले भने।

गाउँलेका अनुसार लालुमायाँलाई स्थानीय साजन भनिने चतुरमानसिंह तमाङले प्रेम गरी एक वर्षअघि गत बर्षको माघ महिनामा भगाएर बिवाह गरेका थिए। घरमा आएदेखी नै उनको सासु–ससुरासगँ खटपट हुँदै आएको गाउँलेले बताएका छन्। कहिलेकाँही मात्र पति सगैं गोठमा सुत्ने उनलाई सोमबार साँझ परिवारले एक्लै गोठमा सुत्न पठाएको थियो। प्रहरीका अनुसार घटनाको दिन मृतकका श्रीमान काठमाण्डौ गएका थिए।

मृतकका आफन्तले परिवारको संलग्नतामा उनको हत्या गरिएको आरोप लगाएका छन्। ‘छोरासगँ टास्सिएर आयो भनेर सासुले लालुमायाँलाई हेयको दृष्टीले हेर्दै सधैँ यातना दिने गर्थिन्,’ नाताले दाजु पर्ने मृतककी माईती गाउँले नेत्र मोक्तानले भने, ‘घटनाको प्रकृती हेर्दासमेत परिवारकै मिलेमतोमा सुनियोजित तरिकाले हत्या गरिएको देखिन्छ’। उनले हत्याको योजना बनाउन यस अघि गाउँ नजिकै रहेको गोठ केही दिन अघि जंगल छेउमा सारेको र घटनाको अघिल्लो दिन मात्र छोरालाई काठमाण्डौ पठाएको आरोप लगाए।

‘१० दिन पछि मात्र सुत्केरी हुँदै थिईन्, त्यस्ती सुत्केरी हुन लागेकी गाह्रो अवस्थाकी लालुमायाँलाई डेढ घण्टा परको गोठमा लगेर मारे,’ नेत्रले भने।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले घटना बारे अनुसन्धान भईरहेको बताए। ‘घटनाको प्रकृती हेर्दा सुनियोजित हत्या देखिन्छ’ प्रहरी उपरीक्षक केसीले नागरिकसगँ भने। प्रहरीले परिवारका केही सदस्यलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए।