Ultimate magazine theme for WordPress.

प्यालेस्टाइन बालबालिकाले मेसीलाई लेखेको त्यो भावुक चिठी

0

काठमाडौं २३ जेठ। विश्वकप २०१८ को अभ्यासका लागि इजरायल र अर्जेन्टिनाबीच ९ जुन अर्थात आउँदो शनिबार मैत्रीपूर्ण खेल तय भएको थियो । तर, अर्जेन्टिनाले इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द गरेको छ 

यो खेल रद्द हुनुमा राजनीतिक कारणसँगै बिस्थापित प्यालेस्टाइनी बालबालिकाहरुले मेसीलाई लेखेको भावुक चिठ्ठीले पनि बल पुर्‍याएको मानिएको छ ।

अर्जेन्टिना र इजरायलबीच त्यतिबेला मैत्रीपूर्ण खेल आयोजना गरिएको छ, जतिबेला हिंसा थप भड्किएको छ । गाजामा रहेका प्यालेस्टाइनीमाथि इजरायली सेनाले दमन गर्दै आएको छ । पछिल्लो खबरअनुसार कम्तिमा १२० जना प्यालेस्टाइनीको इजरायली सेनाले हत्या गरेको छ ।

अर्जेन्टिना र इजरायलबीचको खेल जेरुसेलमको मलाह शहरस्थित टेडी कोलेक स्टेडिममा तय भएको थियो । ७० वर्षअघि भएको अरब-इजरायल युद्धको क्रममा मलहा ध्वस्त भएको थियो । यहाँ बस्दै आएका प्यालेस्टाइनीलाई इजरायली सेनाले १९४८ मा निकाला गरेको थियो ।

मलहाबाट विस्थापित भएका परिवारका ७० बालबालिकाहरुले आइतबार इजरायलको अर्जेन्टिनी दूतावासमा पत्र पठाएका थिए । अर्जेन्टिनी स्टार स्ट्राइकर लियोनल मेसीलाई सम्वोधन गर्दैै सो पत्रमा प्यालेस्टाइनी बालबालिकाहरुले लेखेका छन्, ‘तपाईं आफ्ना साथीहरुसहित त्यो स्टेडियममा खेल्न आउँदै हुनुहुन्छ जुन हाम्रो गाउँ बर्बाद गरेर बनाइएको हो ।’

उनीहरुले लेखेका छन्, ‘हामीलाई यो कुराले खुसी लागेको छ कि तपाईं यहाँ आउँदै हुनुहुन्छ तर हामी यो कुरामा दुःखी छौं कि मैत्रीपूर्ण खेल त्यो ठाउँमा खेलिने छ, जहाँ कुनै समय हाम्रो घर थियो ।’

सन् १९८६ मा पनि अर्जेन्टिना र इजरायलबीच मैत्रीपूर्ण खेल भएको थियो । र, अर्जेन्टिना विश्वकप विजेता भएको थियो । त्यसैले अर्जेन्टिनीले रमत गन भन्ने ठाउँमा खेलिएको त्यो खेललाई ‘लक्की गेम’ पनि भन्दछन् ।

रुसको आयोजनामा विश्वकप १४ जुनबाट शुरु हुँदैछ । विश्वकपमा प्रतिस्पर्धा गर्नुअघि अर्जेन्टिनाको टिम इजरायलविरुद्ध उत्रिने खबर सार्वजनिक भएलगत्तै प्यालेस्टाइनीका लागि पुरानो घाउ बल्झिएको छ ।

‘मेसीले हाम्रो मन दुखाउने छैनन्’

प्यालेस्टाइनी बालबालिकाहरुले पत्रमा लेखेका छन्, ‘हाम्रो खुसी आँसुमा बदलिएको छ । हाम्रो मन टुटेको छ । हाम्रो हिरो मेसी त्यो स्टेडियममा खेल्न जाँदैछ जुन हाम्रो पूर्खाहरुको चिहानमा बनाइएको छ । यो कति ठीक होला ?’

उनीहरुले अर्जेन्टिना र इजरायल आमनेसामने हुने जुन ९ तारिख आफूहरुका लागि ‘दुःखद दिन’ हुने उल्लेख गरेका छन् । पत्रको अन्तिममा बालबालिकाहरुले लेखेका छन्, ‘हामी भगवानसँग प्रार्थना गर्दछौं कि मेसीले हाम्रो दिल तोड्ने छैनन् ।’

मेसीले अझैसम्म यो पत्रको बारेमा कुनै पनि प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । तर, अर्जेन्टिनाका स्ट्राइकर गोन्जालो हृयुगेनले ईएसपीएन स्पोर्टस् च्यानलसँग मंगलबार कुरा गर्दै इजरायलसँगको अभ्यास खेल रद्द गरिएको जानकारी दिएको बीबीसीले लेखेको छ ।

मेसीको टिशर्ट जलाउन अपिल

गत सोमबार प्यालेस्टाइन फुटबल एशोसियसनका अध्यक्ष जिबरिल रजोबले अर्जेन्टिना, दक्षिण अमेरिका फुटबल संघ र फिफालाई चिठी लेखेर मैत्रीपूर्ण खेलको विरोध जनाएका थिए । उनले लेखेका छन्, ‘यस खेललाई राजनीतिक रंग दिइँदै छ । इजरायल सरकार जेरुसेलममा यो खेल आयोजना गरेर राजनीतिक सन्देश दिन चाहान्छ ।’

उनले अरब र मुस्लिम देशका करोडौं प्रशंसकहरुलाई मेसीको नाम लेखिएको टिशर्ट जलाउनसमेत अपिल गरेका थिए ।

प्यालेस्टाइन फुटबल एशोसियसनले लियोनल मेस्सीसहित अर्जेन्टिनी फुटबल टोलीको तस्वीर अंकित पोस्टर टाँगेर पनि खेल रद्द गर्न दबाव दिएको थियो ।

Leave A Reply

Your email address will not be published.